कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६
333

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले बिनाटेन्डर मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्पन्न हुने लागतभन्दा दोब्बर रकममा दिइएको विषय संसदमा उठाएकी छन् । बुधबार खानेपानी तथा सरसफाई विधेयकमाथिको छलफलका क्रममा संग्रौलाले कहिलेसम्म आयोजनाको ठेक्का दिँदै जाने र सम्झौता तोड्दै जाने भन्दै मन्त्री बिना मगरलाई प्रश्न पनि गरिन् ।
१ अर्ब ५५ करोडमा सम्पन्न हुने आयोजना बिनाटेन्डर झण्डै ३ अर्बमा ठेक्का दिइएको सांसद संग्रौलाले बताइन् । उनले भनिन्, “नयाँ नयाँ ठेक्का गर्दै जाने । त्यो ठेक्का भित्र पनि अनियमितता हुँदै जाने । काठमाडौंवासीले पनि स्वच्छ खानेपानी खान नपाउने हो भने विगतको सरकारलाई औंला ठड्याएर हुँदैन । दुई तिहाइको सरकारले जनतालाई स्वच्छ खानेपानी कहिले दिन्छ ?”

यसअघि खानेपानीको आयोजनाबाट इटालीको सिएमसी कम्पनीले हात झिक्नुमा मन्त्री र कम्पनीबीचको कमिसनको खेल कारण भएकोतर्फ पनि उनले संकेत गaरिन् । त्यस्तै, उनले सरकारले ९२ प्रतिशत जनतालाई स्वच्छ खानेपानी खुवाउने लक्ष्य राखेको भएपनि हाल ३० प्रतिशत जनताले पनि स्वच्छ खानेपानी नपाएको बताइन् । हिमाल, पहाड र तराईमा खानेपानीका बेग्लाबेग्ला समस्या रहेको बताउँदै उनले जलवायु परिवर्तनका कारण हिमाल पग्लने क्रम रहेको, पहाडमा पानीको मुहान सुक्दै गएको र तराईका जनताले आर्से्निक मिसिएको पानी खाइरहनु परेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
खानेपानी समस्याका कारण महिलाहरु समस्यामा परेको भन्दै उनले भनिन्, “प्राकृतिक स्रोत पानीका मुहानहरु, खोलानालाहरु सुक्दै गएका छन् । विकराल परिस्थिती छ । विशेषगरी आङ खस्ने समस्याका बाबजुद पनि महिलाहरु पानी लिन जान्छन् । त्यसरी ल्याउने पानी पनि शुद्ध छैन ।” पानी भनेको जीवन भएपनि जीवनको रक्षा गर्न नसकेको उनले बताइन् ।