कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६
349

खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नै कार्यकालमा पूरा हुने दाबी गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा खानेपानी विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले खानेपानी वितरण र आधारभूत खानेपानीको परिपूर्ति तथा पानीको निर्यात गर्ने लक्ष्य चाँडै हासिल हुने दाबी गरिन् ।
उनले भनिन्, “यहाँ बोल्ने माननीयज्यूहरुले २४ वटा मन्त्री फेरिए तर मेलम्ची आएन भन्नुभो । यो सरकार अघिल्ला सरकारजस्तो होइन । तपाईंहरु सबै ढुक्क हुनुस्, अब २४ औं मन्त्रीकै पालामा मेलम्ची खानेपानी आयोजना बन्छ । मेलम्चीको खानेपानी चाँडै नै काठमाडौंबासीले खान पाउँछन् ।”
मेलम्चीका विषयमा आफूले सांसदहरुबाट धेरै पटक धेरै प्रश्न सुनेको र आफूले पनि धेरै पटक जवाफ दिइसकेको बताउँदै उनले आफ्नै कार्यकालमा मेलम्चीको खानेपानी काठमाडौं आउने प्रतिवद्धता दोहो-याइन् ।
नेपालको खानेपानी क्षेत्रमा धेरै चुनौती रहेकाले यसलाई नजरअन्दाज गर्न नसकिनेसमेत मन्त्री मगरले बताइन् । उनले भनिन्, “सीएमसी कम्पनी आर्थिक रुपमा टाट पल्टिन सरकारको र मन्त्रीको कुनै भूमिका छैन । सिएमसी टाट पल्टिएकाले नेपालमा मात्रै होइन अरु देशमा पनि असफल देखिएको कुरालाई माननीयज्यूहरुले आत्मसात् गर्नुप-यो ।”
नेपालको सबै क्षेत्रमा खानेपानी वितरण, स्रोत संरक्षण र पहिचान र व्यवस्थापन गर्न मन्त्रालयले खानेपानी विधेयक तयार गरिएको उनको भनाइ थियो । “हिमाल, पहाड र तराईलाई केन्द्रित गरेर र वर्षाको संकलन गरेर पानीको वितरणको तयारीमा छौं । सस्ता खालका केही आयोजना सञ्चालन गरेर खानेपानी पूर्तिको योजना बनाएका छौं । सम्भव भएका स्थानमा डिप बोरिङ गर्नेछौं । धेरै आयोजना निर्माणाधीन छन् । देशभर ९२ प्रतिशत खानेपानी पु-याउने प्रतिवद्धतामा केन्द्रित रही आधारभूत खानेपानीको परिपूर्ति र निर्यात गर्ने लक्ष्यमा छौं । जथाभावी डोजर चलाएका कारण पानीका मुहान सुकेका छन् । डोजरको जथाभावी सञ्चालन रोक्न पहल गरेका छौं । चुरे–भावर क्षेत्र संरक्षणमा सबै जुट्नुपर्छ । सबै निकायले पानीको मुहान संरक्षणका काम गर्नुपर्छ,” उनले भनिन् ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुकेका पानीका मुहान संरक्षण र खानेपानीको सम्भावित स्रोत पहिचानमा मन्त्रालयले अध्ययन गरिरहेको पनि मन्त्री मगरले बताइन् । उनले भनिन्, “उपत्यकामा खानेपानीका धेरै स्रोतहरु सुकेका छन् । हाम्रो मन्त्रालयको एउटा निकायले डेढ वर्ष लगाएर खानेपानीको सन्दर्भमा अध्ययन गरेको छ । ढुङ्गेधाराको पानी परीक्षण र स्रोत पहिचान र पुर्खाले बनाएका ढुङ्गेधारा र पोखरीको अध्ययन गरेको छ । कतिपय पोखरीमा घर बनाएको भेटिएको छ ।”
खानेपानीको परिपूर्तिका साथै डिपबोरिङ र जमिनबाट निकालिने पानीको आर्से्निक लगायतले पारेको समस्याले उत्पन्न भएका समस्या समाधान गर्न पनि मन्त्रालयले काम सुरु गरेको मन्त्री मगरले उल्लेख गरिन् ।
मन्त्री मगरले काठमाडौंलगायत देशका प्रमुख नदी सरसफाई र पानी प्रशोधन गरिने बताइन् । “बाग्मती केही महिनामै प्रशोधन गरिने छ । बाग्मती सफा पानी बगेको हेर्ने दिन अब त्यति पर छैन । देशका अन्य नदीलाई सफा गरिने विषयलाई पनि विधेयकमा समेट्न खोजेका छौं । विधेयकमा अन्य सहरका नदीलाई पनि सफा बनाउने विषय समेटेका छौं,”
यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद गगन थापाले संविधानले गरेको व्यवस्था मिचेर खानेपानी तथा सरसफाई विधेयक ल्याइएकोमा असन्तुष्टि जनाए । उनले भने, “संविधानको धारा ४७ मा तीन वर्षभित्रमा विधेयक पारित गरिसक्नुपर्ने व्यवस्था छ । तर, यो एउटा विधेयकलाई मात्र यत्रो महिनापछि ल्याउने विशेषाधिकार कसरी प्राप्त भयो ? यो संविधानको उल्लंघन हो की होइन ?”
उनले आफ्नो सुविधाअनुसार विधेयक ल्याइनु संविधान विपरित भन्दै आफूले पटक पटक संसदमा खानेपानी तथा सरसफाई विधेयकका बारेमा उठाएका प्रश्नहरलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि पोखे । विधेयक बनाउँदा खानेपानी र स्वास्थ्यको हकको विषयमा संविधानको व्याख्यात्मक टिप्पणीलाई नहेरिएको पनि उनले बताए ।
सांसद रेखाकुमारी झाले खानेपानीका अधिकांश स्रोत सुकेको भन्दै मन्त्री मगरको ध्यानाकर्षण गराइन् । साथै चुरे संरक्षणका लागि मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताइन् । यस्तै सांसद डिला संग्रौला पन्तले सरकारले ९२ प्रतिशतलाई शुद्ध खानेपानी वितरण गर्ने बताए पनि हाल ३० प्रतिशत जनताले पनि शुद्ध खानेपानी नपाएको बताइन् ।
सांसद आशाकुमारी बिकले दलित समुदायले निजी धारा जडान गर्ने पहँच नपुगेको र सार्वजनिक धारामा पानी भर्न जाँदा भेदभाव भोग्नु परेको भन्दै दलित समुदायलाई निजी धारा राख्न सरकारले पहल गर्नुपर्ने बताइन् ।
सांसद प्रकाश रसाइलीले मेलम्ची आयोजनाको काम मन्त्रालयले ३ प्रतिशत बाँकी रहेको बताएको तर त्यति काम गर्न मन्त्रालयले ढिलाइ गरेकोबारे प्रश्न उठाए ।

‘गाडी पखालेरमात्रै काठमाडौं पस्न दिऔँ’
सत्तारुढ दल नेकपाका सांसद महेश बस्नेतले धूलोधूवाँ मुक्त सहर बनाउन काठमाडौं भित्रने गाडीलाई पखालेरमात्रै प्रवेश दिइनुपर्ने तर्क अघि सारेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बस्नेतले काठमाडौं भित्रने गाडीलाई अनिवार्य पखाल्नुपर्ने र ढुंगा, बालुवा बोकेका ट्रकलाई गुड्न रोक लगाइनुपर्ने तर्क अघि सारेका हुन् ।
उनले भने, “सहरमा सोलारबाट चल्ने गाडीहरूलाई प्रोत्साहन गर्ने, सहर पस्ने गाडीहरूलाई धुने पखाल्ने व्यवस्था गर्नुपर्छ ।” खानेपानी नआउँदा महसुल तिर्नु नपर्ने र खानेपानीलाई घरेलु उद्योगको रूपमा स्वीकार गरिएको भन्दै उनले खानेपानी विधेयकको स्वागत गरे ।
उत्सर्जित फोहोरको व्यवस्थापन गर्न सांसद बस्नेतले चाउचाउका खोल र पोलिथिन झोला फिर्ता गर्दा एक रूपैयाँ भुक्तानी दिने चलनको विकास गर्नुपर्ने तर्क गरे ।