कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६
417

रुपन्देही- छिमेकी मुलुक चीनको सिचुवान र क्वीचौ प्रान्तको भ्रमण सकेर प्रदेश फिर्ता भएका मुख्यमन्त्री शंकर पोखरेलले भ्रमणका क्रममा केही महत्वपूर्ण समझदारी भएको बताएका छन् । भ्रमण निकै उपलब्धिमूलक रहेको बताउँदै भ्रमणका क्रममा प्रदेश नम्बर पाँच र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको उनले जनाए ।
मुख्यमन्त्रीले यो भ्रमणले दुई प्रदेश, पालिका र जनताबीचको सम्बन्ध अझ बलियो हुने र दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन बल पुग्ने विश्वास रहेको बताए । भ्रमणकै क्रममा मुख्यमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका उप प्रमुख शाओ ल्याङ्गबीच समेत भेटवार्ता भएको थियो । भ्रमणकै क्रममा दाङको घोराही उप–महानगरपालिका र सिचुवानको यान सीटीबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको मुख्यमन्त्रीले जानकारी दिए ।
भ्रमणका क्रममा चीनले गरिबी निवारणका सन्दर्भमा गरेका प्रयासहरुलाई नजिकबाट अवलोकन गर्ने अवसर प्राप्त भएको र सन् २०२० सम्ममा चीनले गरिबी अन्त्य गर्ने योजनाका बारेमा मुख्यमन्त्रीले चासोको रुपमा त्यो योजनालाई लिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।