कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
322

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेका हुन् ।
निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गते कार्यकाल समाप्त भएपछि सिलवाल नयाँ सदस्य सचिवमा नियुक्त भएका हुन् । मन्त्रीस्तरीय निर्णयपछि खेलकूदमन्त्री विश्वकर्माबाट सिलवालले सिंहदरबारस्थित युवा तथा खेलकूद मन्त्रालयमा सदस्यसचिवको शपथ लिएका छन् । प्रधानमन्त्री संरक्षक रहने राखेपमा युवा तथा खेलकूद मन्त्री अध्यक्ष रहने प्रावधान छ ।

राखेपको १८औं सदस्य सचिवका रुपमा नियुक्त भएका सिलवालले शपथ ग्रहणका साथै त्रिपुरेश्वरस्थित राखेपको कार्यालय पुगेर पद बहालीसमेत गरे । उनले सबैलाई साथमा लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । सदस्य सचिव सिलवालले नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को आयोजनाका लागि तालिका बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वास गरेर राखेपको जिम्मेवारी दिएकाले सफल नतिजा निकाल्न प्रयासरत रहने उनले बताए ।

को हुन् सिलवाल ?
सदस्य सचिवमा नियुक्त सिलवाल यसअघि निवर्तमान सदस्य सचिव विष्टद्वारा गठित नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष थिए । सिलवाल हिसान र गोल्डेन गेट कलेजको अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीको संस्थापक अध्यक्षसमेत हुन् ।
केही समयअघि उनै सिलवालको स्वामित्व रहेको गोल्डेन गेट कलेजमा एमबिबिएस परीक्षाको प्रश्नपत्र आउट भएको थियो । सिलवालकै निर्देशनमा २०७१ साल मंसिरमा सञ्चालित छात्रवृत्ति कोटाको एमबिबिएस परीक्षामा पनिप्रश्नपत्र किनबेच भएको बताइन्छ । सो आरोपमा अख्तियारले देवीप्रसाद पाण्डे र खेचरनाथ सापकोटालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने दुवैजना गोल्डेन गेट कलेजका अध्यापक हुन् ।
उनीहरुले प्रतिव्यक्ति १० लाख रुपैयाँ लिएर प्रश्नपत्र बेचेको पाइएको थियो । तत्कालीन एमालेसम्वद्ध युवा संघको उपाध्यक्ष भइसकेका उनी प्रधानमन्त्री ओली निकट मानिन्छन् ।