कारोबार संवाददाता
सोमवार, असार २३, २०७६
438

दुईतिहाइ बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकार भारतसँग झुकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को आलोचना गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सांसदहरु बालकृष्ण खाँण र गगनकुमार थापाले नेकपा नेतृत्वको सरकार भारतसँग डराएर जनविरोधी काम गर्न उद्यत रहेको आरोप लगाए ।
भारतबाट आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेकोमा सांसदद्वयको आक्रोश केन्द्रित थियो । सांसद थापाले भारतबाट नेपाल आउने कृषिजन्य पदार्थको अनिवार्य विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेको भन्दै सरकारको चर्को आलोचना गरे । सांसद थापाले भारतसँग सरकार झुकेको बताए ।
प्रधानमन्त्रीको मान राख्न मास्क नलाई विषाक्त हावा यसअघि सेवन गरिरहेको भन्दै उनले भने, “अब सरकारको निर्णयको मान राख्न परीक्षण विनाको तरकारी, फलफूल पनि खाइदिउँला ।” थापाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी खुट्टा पहिले देखिएको भन्दै अहिले घुँडामा कत्रो भ्वाङ परेको छ ? भन्दै प्रश्न पनि गरे ।
“आयात हुने कृषिजन्य पदार्थको अनिवार्य विषादी परीक्षण गर्नुपर्ने निर्णय सरकारले ग-यो । आवश्यक तयारीविना काम शुरु गरेकाले अप्ठ्यारो र झन्झटिलो त हुने नै भयो । तर, निर्णय सही भएकाले केही समयका लागि महँगो तरकारी खाएर होस् वा तरकारी विनाको भोजन गरेर होस्, सरकारको कामलाई सहयोग गर्न तयार भएकै थियौं,” सांसद थापाले भने, “हाम्रो यस्तो साथ पाएपछि लागेको थियो– आफ्नो निर्णयमा सरकार अडिइरहनेछ । विलम्ब नगरी भन्सार विन्दुमा पूर्वाधार बनाउनेछ र ठोकेर भन्नेछ– मेरो देशमा विषादी परीक्षण नगरी तरकारी, फलफूल भित्राउन दिइने छैन । जनताको पनि साथ पाएपछि पारीबाट आउने तरकारी र फलफूलसँगै वारीबाट पारी जाने चिया र अलैँचीको पनि हिसाबकिताब हुनेछ भनेर गर्जेर भन्ला भन्ठानेको त पारीबाट आएको खोकीको मन्द आवाजबाटै थला पो प-यो हाम्रो सरकार ।”

‘सरकार शक्ति राष्ट्रसामु झुक्यो’
नेपाली कांग्रेसले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्ने निर्णयप्रति आपत्ति जनाउँदै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेको छ । आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड हुने गरी सरकारले लिएको सो निर्णयबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका हुन् ।
उनले सरकारले भारतसामु लम्पसारवादी नीति लिएकै कारण सो निर्णय लिएको आरोप पनि लगाए । प्रमुख सचेतक खाँणले जनताको स्वास्थ्यमाथि गम्भिर आघात पु-याउने गरी निर्णय लिएर सरकारले शक्तिराष्ट्र भारतसामु निरिहता प्रकट गरेको पनि बताए । सरकारले जनताको स्वास्थ्यमाथि गम्भिर आघात पुग्ने गरी सो निर्णय लिएकाले त्यसप्रति आफ्नो पार्टीको आपत्ति रहेको प्रमुख सचेतक खाँणको भनाइ छ ।
प्रमुख सचेतक खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले गैरकानुनी ढंगले हत्या गरेको दावी गर्दै त्यसप्रति निन्दा पनि व्यक्त गरे । सरकारले पौडेललाई संविधान र कानुनको बर्खिलाप हुने गरी हत्या गरेर मानव अधिकारको समेत गम्भिर उलंघन गरेको उनको दावी थियो ।
सांसद खाँणले सांसदहरुले उठाएका विषयलाई सरकारले गम्भीर रूपमा नलिएको भन्दै आपत्ति जनाए । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आइतबारको बैठक शुरु गर्नेबित्तिकै कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले उठेर विरोध जनाएपछि बोल्न समय पाएका सांसद खाँणले व्यवस्थापिकामा दलका प्रतिनिधिले बोलेका कुरालाई कार्यपालिकाले गम्भीरताका साथ नलिएको र सभामुखले गरेको रुलिङलाई बेवास्ता गरेको बताए ।
सांसद खाँणले अखाद्य पदार्थलाई बिक्री वितरणमा रोक लगाउन गरेको सरकारको निर्णय केही दिन पनि नटिक्नुको कारण के हो भनी सम्बन्धित मन्त्रीसँग जवाफ माग गरे । “अखाद्य तरकारी रोक लगाउने सरकारले गरेको निर्णयको हामीले स्वागत ग-यौं तर सकारले घुँडा टेकेको छ, सरकार लम्पसार परेको छ, खाद्य सुरक्षासम्बन्धी हक, जीवन रक्षा गर्न पाउने अधिकारको रक्षा होस्, हिजो किन रोकियो ? परीक्षण नगरी किन फेरि सहजतापूर्वक खोलियो, यो गम्भीर विषय भएकाले तत्काल सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ,” उनले भने । संविधान प्रतिकूल अघि बढाइएका सबै विधेयक फिर्ता लिन पनि प्रमुख प्रतिपक्षी दलले सरकारको ध्यानाकर्षण गराएको छ ।

जनताको स्वास्थ्य र जीवनप्रति गम्भीर खेलवाडः तरुण दल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै विरोध गरेको छ । तरुण दलका कार्यवाहक अध्यक्ष उत्तमकुमार चापागाईँले आइतबार विज्ञप्तिमार्फत् सरकारको निर्णयको विरोध गरेका हुन् ।
सत्ताको स्वार्थ हेरेर तरकारी तथा फलफूलको विषादी परीक्षणबिना नेपाल भित्र्याउने निर्णय गरेर सरकारले जनताको स्वास्थ्य र जीवनप्रति गम्भीर खेलबाड गरेको उनले आरोप लगाएका छन् । “संविधानले मौलिक अधिकार अन्तर्गत प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने सुनिश्चितता भए पनि सत्ताको स्वार्थ हेरेर भारतबाट आयातित फलफूल र तरकारी विषादी परीक्षणविना नेपाल भित्र्याउने निर्णय आमजनताको स्वास्थ्य र जीवनप्रति गम्भीर खेलबाड गर्ने जनविरोधी प्रवृत्तिलाई गम्भीरतापूर्वक लिएका छौं,” विज्ञप्तिमा भनिएको छ ।
सरकारले हचुवामा गर्ने जनविरोधी अपरिपक्व निर्णयहरुबाट एकपछि अर्को विवाद निम्त्याउने र मुलुक र राष्ट्रियता एवं लोकतन्त्रको खिल्ली उडाउने काम भइरहेको तरुण दलको दाबी छ । तरुण दलले जनताको अधिकार र लामो राजनीतिक संघर्षपछि प्राप्त लोकतान्त्रिक उपलब्धि माथि नै प्रहार हुने निर्णय नसच्चिने जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

नेविसंघले प्रधानमन्त्रीलाई विषाक्त तरकारी उपहार पठाउने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भारतबाट निर्यात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । नेतृत्वविहीन अवस्थामा रहेको नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले आइतबार विज्ञप्ति जारी गरेर विषाक्त तरकारी निर्यातको विरोधमा सरकारविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि विषाक्त तरकारी तथा फलफूल प्रदर्शन गर्ने भएको छ । यस्तै मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने कार्यक्रम तय गरेको छ ।
असार २५ गते विषाक्त तरकारी, फलफूल बहिष्कार कार्यक्रम तथा प्रचार–प्रसार र पर्चा वितरण गरिने विज्ञप्तिमा उल्लेख छ । नेविसंघले असार २६ गते मसाल जुलुस र असार २७ गते माइती घरमा बृहत प्रदर्शन तथा सभाको आयोजना गर्ने भएको छ ।
नेविसंघले आइतबार पनि विषाक्त तरकारीसहित काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो । तरकारीको विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट केही दिनमै सरकार पछि हटेको विरोधमा प्रदर्शनीमार्गमा तरकारीसहित प्रदर्शन गरिएको थियो ।
प्रदर्शनकारीले ‘राष्ट्रवाद कता हरायो’, ‘विषादीयुक्त तरकारी नल्याउ’, ‘तरकारीमार्फत् जनतालाई विष खुवाउने कार्य बन्द गर’ लगायतका नारा लेखिका प्ला–कार्ड बोकेका थिए ।