कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६
485

हेटौंडा-प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चीनले अभूतपूर्व रुपमा विकास गरेको भन्दै नेपालले पनि त्यसबाट सिक्दै अघि बढ्ने बताएका छन् । त्यसको लागि चीन सरकारको सहयोगको पनि उनले अपेक्षा गरे ।
चीनको ५ दिने भ्रमणका क्रममा बिहीबार गान्सु प्रान्तमा भएको २५ औ चीन लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले चीनको गान्सु प्रान्तसँग प्रदेश सरकारले भगिनी सम्बन्ध जोडेकाले प्रदेशको विकासमा सदैव साथ पाइने विश्वास व्यक्त गरे । परिबहन सम्बन्धमा हस्ताक्षर भएपछि सम्बन्धले नयाँ उचाई लिएको उनको भनाइ थियो ।

मुख्यमन्त्री पौडेलले दुई देशले एक अर्काको सार्वभौमिकता र संघीयतामा उत्तिकै सम्मान गरेको बताउँदै चीनसँग ऐतिहासिक, सांस्कृतिक, आर्थिक र भौगोलिक आधार पनि मिल्ने बताए । नेपालको ७ प्रदेशमा सबै भन्दा ३ नम्बर प्रदेश महत्वपूर्ण स्थानमा रहेको भन्दै २ तिहाई उद्योग पनि ३ नम्बर प्रदेशमा नै रहेको कार्यक्रममा जानकारी गराएका थिए । संयुक्त उद्योग सञ्चालनको लागि विदेशी लगानीलाई नेपालले प्रोत्साहित गर्ने उनले प्रतिबद्धता जनाए ।
नेपाल धेरै क्षेत्रहरूमा व्यापारको लागि खुला रहेको भन्दै उहाँले निर्धक्क भएर लगानी गर्न चिनिया पक्षलाई आग्रह गरे । अहिले नेपालमा सडक यातायात, रेलवे, बिमानस्थल, जल यातायात, र सूचना प्रविधिको बिकास अपरिहार्य रहेको भन्दै यस्ता क्षेत्रमा लगानीको लागि प्रदेश सरकारले वातावरण बनाउने उनले प्रतिवद्धता जनाए ।
गान्सु प्रान्तसँग यसअघि नै भगिनी सम्बन्ध गाँसिएको स्मरण गराउँदै पौडेलले व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा समेत प्रदेशलाई सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।