कारोबार संवाददाता
बुधवार, असार ११, २०७६
371

राष्ट्रिय जनता पार्टी (राजपा)सँगको एकीकरण वार्ताले समाजवादी पार्टी (सपा) नेपालका जनवर्गीय संगठनहरूको समायोजन रोकिएको छ । राजपासँगको एकीकरण प्रक्रियाले एक साताभित्र ठोस रुप नलिए तत्काललाई नहुने दुवै पार्टी निकट नेताहरूले बताएका छन् ।
समाजवादी पार्टीका नेताहरूले नयाँ शक्ति र संघीय समाजवादी फोरमका विभिन्न जनवर्गीय संगठनको समायोजन रोकेर यस विषयमा ध्यान दिएका छन् । यसका लागि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपाका नेता राजेन्द्र महतोसँग दुई पटक घनीभूत छलफल गरेका छन् ।

फोरम निकट नेताहरूका अनुसार महतोलाई विश्वासमा लिन सकिए राजपासँग एकीकरण सहज हुनेछ । महतो पार्टीका तर्फबाट वार्ता समितिका संयोजक भएकाले पनि उपेन्द्रले भेटेको हुन सक्ने राजपाका नेताहरूले बताएका छन् ।
फोरम निकट स्रोतका अनुसार महतो बाहेकका अध्यक्ष मण्डलका सदस्यलाई उपाध्यक्ष दिने, महन्थ ठाकुरलाई सर्वमान्य नेता बनाउने गरी छलफल भएको छ । समाजवादी पार्टी निकट पत्रकारहरूको संगठनले एक बनाएर नयाँ नाम प्रेस नेपाल दिने गरी सहमति गरेका छन् । प्रेस नेपालको घोषणा यही साता हुने सम्भावना रहेको बताइएको छ ।
तर, त्यो कार्यक्रमलाई स्थगन गरिएको छ । पार्टीका नेता रकम चेम्जोङले पत्रकारहरूलाई दुई चार दिन पर्खन भनेको पार्टी निकट गतिविधि निकट स्रोतले जनाएको छ । किन रोकिएको भनेको जवाफमा उनले पार्टीका नेताहरू राजपाका नेताहरूसँग विभिन्न किसिमको वार्तामा सक्रिय रहेकाले प्रेस नेपाल लगायतका जनवर्गीय संगठनको समायोजन कार्यक्रमहरूलाई स्थगित गरिएको हो ।
उनीहरूका अनुसार राजपासँग एकता भए जनवर्गीय संगठनलाई पनि समायोजन गर्नुपर्ने हुन्छ । नयाँ शक्तिसँग एकता गर्दा सैद्धान्तिक रूपमा फोरम टाढा रहेको थिएन । उनीहरू दुबै राष्ट्रपतीय प्रणालीको माग गर्ने पार्टी रहेका थिए ।
तर राजपा भने प्रधानमन्त्रीय पद्धतिलाई मानेको पार्टी हो । यो विषयमा निर्णय गर्नुपर्ने हुन्छ । तर यसका लागि अध्यक्ष मण्डलको सहमति आवश्यक हुनेछ । राजपाका उपाध्यक्ष सत्यनारायण मण्डलले एकीकरण हुँदै हुँदैन भन्ने होइन तर तत्कालै होला जस्तो नदेखिएको बताए ।
“महतोसँग कुरो गरेर मात्र पुग्दैन । निर्णय लिन अध्यक्ष मण्डलको सहमति आवश्यक हुनेछ । फेरि महतोलाई विश्वासमा लिएर पुग्दैन,” उनले भने ।