कारोबार संवाददाता
बुधवार, असार ११, २०७६
534

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भइरहेकोले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली हुनसक्ने बताएका हुन् ।
नेता पौडेलले पार्टी एकता गर्दा नै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएको सुनाउँदै सोही सहमतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “हामी एकताको पक्षमा छौं । एकता रहरको लागि गरिएको होइन । त्यसैले विगतमा भएका सहमति इमानदारिताका साथ कार्यान्वयन गर्नुपर्छ ।”

उनले वर्तमान सरकार पाँच वर्षसम्मको लागि निर्वाचित भएकोले तत्काल स्थानीय, प्रदेश र संघमा सरकार फेरबदल हुने अवस्था नरहेको पनि जिकिर गरे । यद्यपि संघीय सरकार भने पार्टीको निर्णयका आधारमा फेरबदल गर्न सकिने उनले स्पष्ट पारे । उनले भने, “सरकारको कामलाई प्रभावकारिता बनाउनको लागि पनि मन्त्रिमण्डल फेरबदल गर्न सकिन्छ । तर, सरकार नेकपाकै नेतृत्वमा बन्छ ।”
सरकारको काम सुशासनको क्षेत्रमा अझै राम्रो हुनुपर्ने भनेर जनस्तरबाटै गुनासो आइरहेको सुनाउँदै त्यसप्रति सरकार गम्भिर बन्नुपर्ने सुझाव ििदए । उनले भने, “सरकारले सुशासनको क्षेत्रमा शून्य सहनशिलता अपनाउनुपर्छ ।”
भ्रष्टाचार न्यूनीकरणको लागि पनि त्यस्तै गम्भिर पहलकदमी चाल्नुपर्ने उनको भनाइ थियो । उनले भने, “भ्रष्टाचार न्यूनीकरणको लागि विपक्षीले उठाएको आवाज स्वागतयोग्य छ ।” पौडेलले गुठी विधेयकलगायतका अन्य कुनैपनि विधेयक खारेज नभएको सुनाउँदै तत्कालको लागि स्थगन गरिएको पनि स्पष्ट पारे । सरकारको कामकारबाही अहिले नै मापन गर्न नसकिने बताउँदै उनले कम्तिमा पनि बजेट कार्यान्वयन भएपछि मापन गर्न सकिने बताए ।
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सूचना रहेको दाबी गरे । उनले भने, “ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन भन्ने राजपाको ठम्याइ छ । हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौं । बरु, यो सरकार आफैं ढल्ने मसँग सूचना छ ।” उनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको पनि दाबी गरे ।
पार्टीका केन्द्रीय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको र सुत्दा पनि हतियारधारी सुरक्षाकर्मी राखिएको बताउँदै त्यसप्रति आपत्ति जनाए ।
फरक प्रसंगमा उनले राजपा र समाजवादी पार्टीबीच एकताको लागि प्रशस्त सम्भावना रहेको सुनाउँदै त्यसको लागि उपेन्द्र यादवले तत्काल सरकार छोड्नुपर्ने आफूहरुको अडान रहेको स्पष्ट पारे ।