कारोबार संवाददाता
बुधवार, असार ११, २०७६
1213

भरतपुर- नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छिटै शान्तिपूर्ण प्रक्रियामा आउने दाबी गरेका छन् । भरतपुर महानगरपालिकाको चौथो नगरसभालाई मंगलबार सम्बोधन गर्दै उनले भने, “आजभोलि मैले पाएको संकेतमा उहाँले बुझ्न थाल्नुभएको छ । छिटै यो समस्याको समाधान शान्तिपूर्ण हुन्छ र हुनुपर्छ भन्ने लाग्छ ।”
उनले विप्लवलाई नजिकबाट चिनेको बताउँदै उनले भने, “ढिलो वा छिटो उहाँहरु आउनुहुन्छ । जसरी साथीहरु फर्किराख्नु भा’छ, विप्लव जी पनि आउनुहुन्छ, मलाई था’छ ।”
उनले विप्लवले आफूलाई घृणा नगरेको तर्क सुनाए । शान्ति प्रक्रियमा आउँदा २ वर्ष कार्यालयको मुख्य सचिव भएर काम गरेकाले असाध्यै नजिकबाट चिन्ने उनले बताए । उनले शान्ति प्रक्रियामा आएपछि विप्लवले भनेको कुरा सम्झे । “कमरेड तपाईंले हामीलाई काठमाडौँ त लिएर आउनुभयो, तर, मलाई अनुभूति के भयो भने नुवाकोटको एउटा भर्खरको केटीलाई काठमाडौँ लगेर विवाह गर्छु भनेर बम्बई पु-याएजस्तो फिल भयो भन्नुभयो,” विगत सम्झँदै प्रचण्डले भने, “मिटिङमा बहस हुदा उहाँले मेरो दिमाग पनि अलिअलि खल्बलिने गरी तर्क गर्नुभयो । तर मैले बम्बई लगेको छैन, काठमाडौं नै ल्याएको छु सबैलाई ।” विस्तारै विप्लवले बुझ्न थालेको भन्दै उनले भने, “अब प्रचण्डले वम्बई लगेको रहेनछ, हामी सबैलाई काठमाडौं नेपालमै विवाह गर्न पहल गरेको र’छ भन्ने जुन दिन बुझ्नुहुन्छ, तुरुन्तै आउनुहुन्छ ।” उनले विप्लव समूहले गर्दै आएका गतिविधिबाट कुनै पार नलाग्ने बताए ।