विप्लव काफ्ले
मंगलबार, असार १०, २०७६
736

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माडीलाई ‘मणि’ बनाउन असम्भव नरहेको बताएका छन् । माडी नगरपालिकाको तेस्रो नगरसभाको उद्घाटन गर्दै प्रचण्डले भने, “माडी अहिलेसम्म दुःखको केन्द्र जस्तो बनेको छ, विस्तारै मणि बनाउन सकिन्छ भन्ने सपना देखेको हो ।” माडी प्रचण्डको निर्वाचन क्षेत्रसमेत हो । चुनावमा उनले माडीलाई मणि बनाउने उद्घोष गरेका थिए ।
“बाटो राम्रा बने, तटबन्धन भए, ठाडाखोलाका गिटीबालुवा झिकेर बस्तीभन्दा माथि हुने चुनौती समाधान भए । निकुञ्जसँग सम्बन्धित समस्या नयाँ ऐनद्वारा समाधान गरिए माडी मणि बन्छ,” उनले भने, “माडीले भोगेका समस्या समाधान गर्न मेरो मेहनत जारी छ ।” उनले चितवन राष्ट्रिय निकुञ्जमा आकाशे पुल वा भूमिगत बाटोको अवधारणा कार्यान्वयनमा ल्याउन छलफल भैरहेको बताए । “राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा छलफल चलाइरहेका छौँ, त्यो अध्ययनबाट प्रतिवेदन तयार हुन्छ, समझदारी बनाएपछि अगाडि आउँछ,” उनले भने, “तर, त्यसो गर्न २–४ वर्ष नै लाग्ने देखियो, त्यही भएर तत्काललाई कालोपत्रे गर्ने सहमति बनेको छ ।”

उनले निकुञ्जको बाटो कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढेकै बेला अदालतले तत्काल काम अगाडि नबढाउनू भनेर फैसला गरेकोमा दुःख व्यक्त गरे । “त्यो फैसला आयो, तर मैले बुझेसम्म त्यसको समाधानको उपाय छ,” उनले भने, “कालोपत्रे तत्काल बनाउन सम्भव छ ।” उनले १५ किमी सडक कालोपत्रे गर्ने र विस्तार गर्ने, पुल बनाउने कामहरू रोकिएपछि पुनः सुरु भएको बताए । निकुञ्ज ऐनलाई संशोधन गरेर जनता र निकुञ्जबीचको सम्बन्ध सुमधुर बनाउने प्रयास भैरहेको बताए । निकुञ्ज हुँदै भरतपुर जान आउन ठूलै युद्ध जितेजस्तो हुने गरेको भन्दै उनले भने, “२४ सै घण्टा विनारोकतोक आवतजावत गर्न पहल हुनेछ, समय सीमा नराख्न पहल गर्छु ।” उनले रिउमा तटबन्धनसहितको रिंगरोडको योजनालाई संघीय सरकारकै पहलमा छिटै बनाइने बताए । माडीलाई माछाको सुरपजोन बनाउन पहल भैरहेको पनि उनले सुनाए ।
“निकुञ्जमा सहज आवतजावत भएमा यहाँको पर्यटन प्रचुर सम्भावना छ,” उनले भने । उनले बाँदरझुला वस्तीको बसोबास सुरक्षित नभएकाले स्थानान्तरण गरिने बताए । उनले जमिन, लालपुर्जा, उद्योगमा रोजगारी लगायतका विकल्पद्वारा दीर्घकालिन समाधानका उपायबाटै सुकुम्बासी समस्या समाधान गरिने आश्वासन दिए ।
बाँदरमुढे घटना भएको क्षेत्रमा १० करोड लागतमा पार्क बनाउने, पीडितलाई रोजगारी दिने, नमुना वस्ती बनाउने लगायतका काम हुने उनले बताए । संघीय र प्रदेश सरकारले बाँदरमुढे पीडित परिवारलाई विशेष प्राथमिकतामा राखेर योजना बनाउन उनले सुझाए

जडीबुटी, चक्लाबन्दी र अर्गानिक खेतीमा अग्रसर माडी
माडी नगरपालिकाले आगामी वर्ष कृषि र पर्यटनलाई उच्च प्राथमिकता दिने गरी बजेट प्रस्ताव गरेको छ । तेस्रो नगरसभामा उपमेयर ताराकुमारी काजी महतोले ९३ करोड ६१ लाख १५ हजार ३ सय ६० रुपैयाँ बराबरको बजेट प्रस्ताव गरिन् । चालूतर्फ १९ करोड ५९ लाख र पूँजीगततर्फ ७४ करोड ११ लाख १५ हजार ३ सय ६० रुपैयाँ प्रस्ताव गरिएको छ ।
जसमध्ये सडक कालोपत्रेतर्फ १२ करोड, जनता आवासका लागि २ करोड, कृषि (पशुपालन र मत्स्यपालन सहित) ४ करोड, शिक्षामा ४ करोड बजेट प्रस्ताव गरिएको छ । यस्तै पर्यटनका लागि १ करोड २५ लाख, स्वास्थ्यका लागि १ करोड २५ लाख, युवा तथा खेलकुदमा ७५ लाख, महिलाका लागि ६० लाख अनुमान गरिएको छ । आदिवासी जनजातिको भवन तथा थारु संग्राहलयमा १ करोड, कार्यक्रमका लागि २५ लाख प्रस्ताव गरिएको छ । दलित नमुना वस्तीका लागि १ करोड, दलित क्षेत्रका कार्यक्रमका लागि ५८ लाख प्रस्ताव गरिएको छ । विपत् भैपरी कोषमा १ करोड, आपतकालिन कोषमा १५ लाख, अपाङता भएकालाई कृत्रिम अंग वितरण कार्यक्रमका लागि ५ लाख प्रस्ताव गरिएको छ ।
नगरपालिकालाई संघीय सरकारबाट वित्तिय समानिकरण अनुदानका रुपमा १२ करोड ९६ लाख, राजश्व बाँडफाडबाट १० करोड २६ लाख, समपुरक अनुदान ५ करोड विनियोजन भएको छ । यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदानमा ३ करोड ५० लाख, राजस्व बाँडफाँडमा २ करोड ५८ लाख, समपुरक अनुदानमा ३ करोड विनियोजन भएको छ । नगरपालिकाले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ४ करोड, तराई मधेस समृद्ध कार्यक्रमबाट १ करोड ५० लाख, जनता आवास कार्यक्रम संघीय सरकारबाट २ करोड ५० लाख र प्रदेशबाट १ करोड आउने अनुमान गरेको छ ।
नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले भित्री ग्राबेल सडकलाई कालोपत्रे गर्न प्राथमिकता दिइने बताए । जंगली जनावर र मानवबीचको द्वन्द्व कम गर्न रिउ करिडोरमा व्यवस्थित तटबन्धन गर्न नेपाल सरकारसँग विशेष पहल गरिने उनले आश्वासन दिए । खोलाहरूमा तटबन्धन गर्दै वस्ती संरक्षणका योजना कार्यान्वयमा ल्याइने उनले बताए ।