कारोबार संवाददाता
मंगलबार, असार १०, २०७६
324

नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला परिषद्का प्रमुखसहित तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूको साथबाट ५ थान बन्दुकसमेत बराबद गरेको छ । पक्राउ गरिएका सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ बस्ने ४० वर्षीय अशोक राई, कानेपोखरी गाउँपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षीय सुदीप भन्ने कंश धिमाल र उर्लाबारी नगरपालिका २ सालबारीका ४८ वर्षीय केन्द्र धिमाललाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ गरिएका व्यक्तिको साथबाट बरामद भएका हातहतियारसमेत प्रहरीले सार्वजनिक गरेको छ ।

विशेष सूचनाको आधारमा बेलबारी नगरपालिकाको वडा नम्बर ३ स्कुल डाँडाबाट भन्ने स्थानबाट मोटरसाइकलमा सवार राई र धिमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । हातहतियारको डरत्रास देखाएर चन्दा असुल्न खोजिरहेको सूचनाको आधारमा दुवैलाई पक्राउ गरिएपछि खोजतलासको क्रममा धिमालको घरमा लुकाई राखिएको दुईवटा अटोमेटिक पेस्तोलसहित त्यसमा फिट हुने म्यागजिन र गोलीसमेत बरामद गरिएको अधिकारीले बताए ।
पक्राउ गरिएका अशोक राई विप्लव समूहको जिल्ला जनपरिषद् प्रमुख तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको उनको भनाइ छ । कंश धिमाल यसअघि २०६६ सालमा झापा दमकको लक्ष्मी बैंक लुटपाटमा ७ वर्ष कैद भुक्तान गरिसकेका तथा उर्लाबारी मंगलबारेस्थित सुनचाँदी पसल लुटपाट घटनामा मुद्दामा चलाइएका व्यक्ति रहेको एसपी अधिकारीले बताए ।
अनुसन्धानका क्रममा हातहतियार लुकाई राखेको अवस्थामा उर्लाबारी नगरपालिका २ सालबारीका ४८ वर्षीय केन्द्र धिमाललाई समेत पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । उनको घरबाट ३ थान भरुवा बन्दुक तथा सो बन्दुकमा प्रयोग हुने बारुद, छर्रा, नटबोल्ट, केप, वासर र पुल्थ्रोमा प्रयोग भएको कपडासमेत बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएका ३ थान बन्दुकमध्ये एकथान बन्दुक लोड गरेको अवस्थामा फेला परेको थियो । पक्राउ गरिएका तीनैजनालाई मुलुकी फौजदारी अपराध ऐन २०७४अन्तर्गत हातहतियार तथा खरखजाना कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।