कारोबार संवाददाता
आइतवार, असार ८, २०७६
315

नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने प्रशिक्षण भेला डेनमार्कको कोपनहेगनमा सुरु भएको छ । डेनमार्कको कोपनहेगनमा कांग्रेसका ३३ वटै जनसम्पर्क समितिमा आबद्ध नेता कार्यकर्ताका लागि विश्व भेला एवं प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
कांग्रेसको राजनीतिक कार्यक्रमको विषयमा प्रशिक्षण दिने र उनीहरूले नेपालको विकासमा गर्न सक्ने योगदानका विषयमा पनि छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना भएको हो । शुक्रबार राति उद्घाटन भएको भेला आइतबारसम्म चल्नेछ । कार्यक्रमका लागि नेपालबाट झन्डै दुई दर्जन कांग्रेस नेताहरू कोपनहेगन पुगिसकेका छन् । कार्यक्रमको उद्घाटन कांग्रेस उपसभापति विमलेन्द्र निधिले गरेका छन् । भेलामा सहभागी हुन विश्वभरबाट जनसम्पर्क समितिका प्रतिनिधिहरु कोपनहेगन पुगेका छन् ।

पार्टीको केद्रीय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु मिनेन्द्र रिजाल, भीष्मराज आङदम्वे, गगन थापा, धनराज गुरुङ, पुरूषोत्तम दाहाल लगायत केन्द्रीय नेताहरुको सहभागिता रहेको समितिले जनाएको छ ।
नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति विरेन्द्रसिंह कार्कीले विदेशमा रहेका नेपालीहरुले कूटनीतिक नियोगमार्फत मताधिकारको सुनिश्चिताका लागि दबाव सिर्जना गर्न भेलामा बृहत छलफल हुने बताए ।
कार्यक्रमलाई सफल बनाउन नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापतिको संयोजकत्वमा नेपाली पूर्वसभापतिहरु नबिन पौडेल, नवराज आचार्य(नविन), रामचन्द्र पाठक, त्रिलोचन सापकोटा, यमलाल सुवेदी वर्तमान महामन्त्री यादव बस्नेत र दिपेन्द्र चुँडाल सम्मिलित तयारी समिति गठन भएको थियो । यस्तै अन्य २० उपसमितिहरु बनेका छन् ।
प्रशिक्षणमा केही समयअघि पारित कांग्रेसको विधानका नयाँ व्यवस्था, महासमिति बैठकका राजनीतिक, आर्थिकसहितका प्रस्तावका विषयमा छलफल भइरहेको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयनका लागि नेपाल सरकारको ध्यानाकर्षण र विदेशमा रहेका नेताहरूको सीप, क्षमता र योग्यताको प्रयोग कसरी गर्ने भन्नेमा छलफल भइरहेको जानकारी दिए ।