कारोबार संवाददाता
सोमवार, असार २, २०७६
361

नेपाली कांग्रेसका सांसद गगन थापाले गुठीसम्बन्धी विधेयक किसान नभई ‘यार’ पोस्नका लागि ल्याइएको भन्दै किसानले केही पनि नपाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सत्तारुढ सांसदहरुले गुठी विधेयकले भूमिहीन किसानले जमिन पाउन लागेको तर्क गरेपछि जवाफमा उनले यस्तो बताएका हुन् ।
“कतिपय गुठीहरु सामन्ती संरचनाका कारणले पनि बनेका छन् । काठमाडौें र बाहिरका गुठीहरुमा कतिपय कुराहरु फरक पनि छन्,” उनले भने, “यो गुठी विधेयक ती जमिन नभएका किसानलाई जमिन दिन ल्याइएको हो भनेर अहिले जबर्जस्त तर्क गरिएको छ । जनता जनता भिडाउन खोजिएको छ ।” यो विधेयक यसैगरी अगाडि बढाउने हो भने आन्दोलन दबाउने कोष भनेर गृह मन्त्रालयको कार्यक्रम ल्याउन पनि उनले सुझाव दिए ।

फरक प्रसंगमा सांसद थापाले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी कानुन पारित गर्न सरकार लागिपरेको बताए । उनले सरकारका ‘अरिङ्गाल’मात्र सुरक्षित रहनेगरी सामाजिक सञ्जाल नियमन गर्नेगरी कानुन ल्याउन लागिएको बताएका हुन् ।
“नेपाली कांग्रेसका सांसदहरूको विरोधका बाबजुद पास गर्न लागिएको सूचना प्रविधि विधेयक भन्छ– कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही बनाउने, गाली गर्ने, धम्क्याउने आशयले सामाजिक सञ्जालमा सन्देश सम्प्रेषित गरेमा पाँच वर्ष कैद र १५ लाख जरिवाना तिराइनेछ । जिस्काउने, होच्याउने, धम्क्याउनेको परिभाषा के ?” उनले प्रश्न गरे ।
भारतमा यस्तै अस्पष्ट कानुनले अभिव्यक्ति स्वतन्त्रता कुष्ठित बनाउने भन्दै सन् २००२ मा बनेको कानुन दफा खारेज गरिएको उनले बताए । जिस्क्याउने, झुक्याउनेको परिभाषा किटान गर्ने अधिकार सूचना प्रविधि अदालतलाई दिन लागिएको र त्यहाँ रहने तीनजना सदस्य सरकारले नियुक्त गर्न पाउने उल्लेख रहेको उनको भनाइ थियो । उनले सरकारी संरक्षणमा रहेकाले व्यक्तिको मानमर्दन हुनेगरी गाली गरिरहँदा पनि केही नहुने तर व्यक्तिले बोलेका कुरा सरकारलाई मन नपरे जहाँ अनुकूल हुन्छ त्यही मुख थुन्ने कानुन बनाउन लागिएको दाबी गरे ।