कारोबार संवाददाता
आइतवार, असार १, २०७६
366

भरतपुर-पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० करोड जनतालाई पुग्ने उत्पादन तागत भएको दाबी गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयले रामपुरमा आयोजना गरेको कृषि प्रदर्शनी तथा कृषक मेलाको शनिबार उद्घाटन गर्दै उनले भने, “सचिवज्यूले मान्छे धेरै भएकाले आयात गर्नुपरेको भन्ने तर्क गर्नुभयो, एउटा सत्यता होला, मुख्य सत्य त्यो होइन । विकासलाई गति दिन नसक्नुनै मुख्य जरो हो ।”
उनले कृषिमा विविधिकरण, आधुनिकिकरण, विज्ञान र प्रविधिको सदुपयोग गर्न सकेमा १० करोड नेपालीलाई खान पुग्ने गरी उत्पादन गर्न सक्ने जमिन र किसान रहेको बताए । सोही मञ्चमा कृषि तथा पशुपंक्षी विकास मत्रालयका सचिव डा. युवकध्वज जीसिले ‘खाने मुख तीन गुणाले बढेकाले आयात गर्नुपरेको तीतो यथार्थ छ’ भनेका थिए । प्रचण्डले भने कृषि क्षेत्रमा अध्ययन अनुसन्धानलाई उत्पादन वृद्धिसँग जोड्नुपर्ने बताए ।

“१० करोडलाई पुग्ने उत्पादन तागत छ, यो विश्वास लिएर अगाडि बढ्नुपर्छ,” उनले भने, “उत्पादन वृद्धि, रोजगारी सृष्टी गर्ने सबैभन्दा ठूलो आधार कृषि नै हो ।” उनले कृषिलाई आधुनिकिकरण, व्यावसायीकरण विना विकासको समस्या समाधान नहुने बताए । कृषिमा सुधार ल्याउन सरकार प्रयत्नशिल रहेको चर्चा उनले गरे । पर्याप्त रोजगारी, उत्पादन र विज्ञान–प्रविधि विना समाजवाद राज्य हुन नसक्ने उनले बताए । उनले इजरायलले कृषिमा क्रान्तिकारी, गुणात्मक फड्को मारेको चर्चा गर्दै भने, “त्यहाँको मोडल नेपालमा सम्भव छ–छैन भनेर छलफलमै छौँ ।” छिटो कृषिमा आधुनिकिकरण गर्न चक्लाबन्दी, सामूहिक खेतीमा ध्यान केन्द्रीत गर्नुपर्ने उनले बताए । कृषिमा आधरित उद्योगहरु स्थापना नभएसम्म बेरोजगारीको समस्या समाधान नहुने उनको भनाइ थियो ।

विश्वविद्यालय परिकल्पनाअनुसार बनेन
प्रचण्डले कृषि तथा वन विज्ञान विश्वविद्यालय अरु विश्वविद्यालय जस्तै बनेको व्यंग्य गरे । “जे परिकल्पना गरेका थियौँ, त्यो अनुसार त्यति काम गरेको देखिएन,” उनले भने, “बरु अरु विश्वविद्यालयजस्तै सामान्य कर्मचारीले काम गर्ने प्रक्रिया अभिवृद्धि मात्रै भएको हो कि भन्ने प्रश्न उठेको छ ।” अध्ययन, अनुसन्धानलाई उत्पादन वृद्धिको, किसानको जीवनमा समृद्धिको अभियानमा जोड्ने कुरामा विश्वविद्यालय चुकेको उनले बताए । नेपालको भूबनोट र भौगोलिक विविधता, साधनस्रोतका दृष्टिले उत्कृष्ट विश्वविद्यालय बनाउनुपर्नेमा उनले जोड दिए । उनले भने, “दक्षिण एसियाकै नमुना बनाउने योजना बनाउनुपर्छ, नत्र यो विश्वविद्यालयको औचित्य सिद्ध गर्न पनि सक्नेछैनौँ ।” संकल्प गरेर विश्वविद्यालयलाई उत्पादन वृद्धिकोे नयाँ अभियान थालनीकर्ताका रुपमा लानुपर्ने उनले बताए ।
कृषि तथा पशुपक्षी विकास मत्रालयका सचिव डा. युवकध्वज जीसिले कृषि क्षेत्र संघीय संरचनामा थिलथिलो बनेको बताए । “हिजो सिंहदरबाट समुदायस्तरसम्म दरिलो थियो । तर, संघीय संरचनामा त्यो स्थापित गर्न जोडबल पुगेन, सेवा झनै खुम्चियो,” उनले भने, “छिनेको चंगा जस्तो, लटईमात्रै काठ्माडांैमा समाएजस्तो छ ।”
कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । शनिबारदेखि सुरु भएको मेला रामपुरमा ३ गतेसम्म चल्नेछ । स्थापनाको १० औं वर्ष प्रवेशको अवसर पारेर मेलाको आयोजना गरिएको हो । मेलामा ५० स्टल छन् । कृषि यान्त्रीकीकरण, कृषि पदार्थ, बिउविजनको उत्पादक र बिक्रेता, कृषि विमा कम्पनी र बैंक, कृषिको सूचना प्रविधि, कृषिसँग सम्बन्धित सरकारी र गैंरसरकारी संस्था, नर्सरी र व्यवसायिक तरकारी बिक्रेताका स्टल मेलामा छन् ।