कारोबार संवाददाता
आइतवार, असार १, २०७६
248

पोखरा-गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले राजनीति र प्रशासनिक संरचना बाहेक अन्य निकायले संघीयताको मर्म बुझ्नै नसकेको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको प्रथम साधारणसभाको शनिबार पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले राजनीति र प्रशासनिक संरचना बाहेक अन्य प्रायः प्रदेशमा गठन भएका निकायहरु केन्द्रको इकाई वा तल्लो तहको रुपमा रहेको दाबी गर्दै त्यस्ता निकाय संघीयताको मर्म भावना अनुसार गठन नभएको जिकिर गरे ।
उनले भने, “संघीयतामा प्रदेश भयो, प्रदेश भएपछि विभिन्न संघसंस्थाहरुले त्यसका अर्को तल्लो इकाईको रुपमा प्रदेश भनेर बताएका छन् । हामीले संघीयता अनुरुप गरौं भन्नु भ्रम हो ।”

मन्त्री गुरुङले संघीयताको बुझाई प्रष्ट नभएको बताउँदै महासंघ गण्डकी प्रदेश संघीय संरचनामा नभई केन्द्रको तल्लो निकाय वा इकाईको रुपमा रहनु संघीयताको मर्म र भावना अनुसार नभएको बताए । अब छुट्टै ढंगले संघीयताको मर्म र भावनाअनुसार संघीय संरचनामा जान आग्रह गर्दै मन्त्री गुरुङले माथिल्लो निकायको इकाईको रुपमा प्रदेशमा गठन गरेर संघीय संरचना अनुसारको प्रदेश गठन हुन नसक्ने दाबी गरे ।
जनताको मौलिक हकलाई संरक्षण गर्न चौथो अंगले गर्नुपर्ने बताउँदै मन्त्री गुरुङ पत्रकारले आफ्नो दाहित्व बहन गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले तर्क र तथ्यका आधारमा सरकारसँग बहस गर्न तयार रहेको बताउँदै पत्रकारलाई आचारसंहिता पालना नगरेकै कारण जेल र दण्ड जरिवानाको कठोर निर्णाय प्रति आफूहरुको आन्दोलन जारी रहेको जनाए ।
गण्डकी प्रदेश प्रमुख प्रतिपक्ष दल (कांग्रेस) का प्रमुख सचेतक मणिभद्र शर्माले प्रदेश सरकारले प्रेसमैत्री कानुन बनाएकोले संघीय सरकारले पनि त्यसमा संशोधन गर्नुपर्र्नमा जोड दिए । समाजवादी पार्टीका प्रदेश सांसद हरिशरण आचार्यले लोकतन्त्रमा पनि सूचनाको हकलाई बन्चित र कुण्ठित गर्न खोजिएको प्रति आपति जनाउँदै पत्रकारको आन्दोलनमा आफूहरुले साथ र सहयोग गर्ने जनाए । राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सार्वजनिक विषयमा हुने गरेका कुनै पनि कार्यक्रमको बारेमा जनताले र पत्रकारले सोधपुछ गर्नुपर्ने बताइन् । सूचनाको हकमा ५ वटा विषयबाहेक सम्पूर्ण विषयमा सोधपुछ गर्न पाउने अधिकार भएकोले त्यो अधिकार प्रयोग गर्न उनले आग्रह गरिन् ।

बन्द रेडियो सञ्चालन गर्न अमेरिकाबाट ३ लाख
पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा हालै आगालागी भएपछि रेडियो बन्द रहेकोले उक्त रेडियो सञ्चालनको लागि अमेरीकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । अमेरिकामा रहेका भिष्म पौडेलले रेडियो सञ्चालनको लागि ३ लाख रुपैयाँ सहयोग गरेका हुन् ।
उक्त सहयोगबराबरको चेक नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको प्रथम साधारणसभाको अवसरमा शनिबार रेडियोका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, स्टेशन म्यानेजर शंकर शर्मा र महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल लगायतले हस्तान्तरण गरेका हुन् । विद्युत चुहिएर आगलागी हुँदा रेडियोको सम्पूर्ण सामग्री जलेर नष्ट भएको बताइएको छ ।