कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६
300

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि नेपाली कांग्रेसको एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका छन् । डेनमार्कको बर्नहोल्ममा यही जुन १३–१७ सम्म हुने मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहितका नेता त्यसतर्फ लागेका हुन् ।
डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी (डीआइपीडी) को निमन्त्रणामा डेमोक्रेसी मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहित डा. मीनेन्द्र रिजाल, चित्रलेखा यादव र बिनोद भट्टराई डेनमार्कतर्फ लागेका छन् । प्रजातन्त्र मेलामा डेनमार्कको प्रजातन्त्रको अनुभवबारे अध्ययन भ्रमणका सहभागीहरुलाई जानकारी गराइनेछ । मेलामा नेपालसहितका विभिन्न मुलुकबाट नेताहरुको सहभागिता रहनेछ ।
डीआइपीडीको सदस्य बनेको नेपाल डेनमार्क बाहिरको पहिलो मुलुक हो । जसलाई सन् २०१० को मे २६ मा त्यहाँको संसदले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसदले सन् २०१२ मा विभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको दलहरुको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो । नेपालजस्तो विकासशील मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्थाको सवलीकरणका लागि दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता अनुसार डेनमार्कको संसदले यो संस्था गठन गरेको हो । यो संस्थाले मुलुकमा दलहरुबीचको सहकार्यमा जोड दिने गर्दछ ।