कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६
353

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । विधेयक फिर्ता नगरे आन्दोलन गर्नेपनि उनीहरुको चेतावनी छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राणा र लोहनीले संसदमा प्रस्तुत उक्त विधेयकले नेपालको परम्परागत सहकार्य र समन्वयमा अडेको धार्मिक र सांस्कृतिक संरचना भत्काउने दाबी गरेका छन् । अध्यक्ष जबराले भने, “जुन रुपमा यो विधेयक पेश भएको छ, त्यो पारित हुन गए नेपाली जनताको सांस्कृतकि विनास भई देशप्रति अपराध गरेको ठहरिनेछ ।” उनले नेपालीको गुठीको संरचनाले नेपाली संस्कृति, कला र आस्थाको अभिव्यक्तिको रुपमा छरिएर रहेका काठमाडौंमा उपत्यका र देशभर छरिएर रहेका धार्मिक र सांस्कृतिक संस्थाहरुको व्यवस्थापनमा विकेन्द्रित संरचना कायम गर्दै आएको सुनाए ।
अर्का अध्यक्ष डा. लोहनीले उक्त विधेयकले अक्षयकोष खडा गर्ने नाममा गुठीका जग्गा व्यक्तिकरण गरी सरकारी मूल्यांकनको २५ प्रतिशत लिएर बिक्री गर्न पाउनेगरी हजारौं रोपनी÷विगाह जमिनलाई कौडीको भाउमा बेच्ने नियत राखेको आरोप लगाए । लोहनीले उक्त विधेयकमार्फत् सरकारले व्यवसाय गर्ने दाउ राखेको बताए । आफ्नो पार्टीले मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई समर्थन नगर्ने पनि लोहनीले स्पष्ट पारे ।