कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
258

गृहमन्त्री रामबहादुर थापाले जनताको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार रोक्ने पक्षमा सरकार नरहेको बताएका छन् । गुठी विधेयकको विरोधमा उत्रेकामाथि माइतीघर मण्डलामा प्रहरीले दमन गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा गृहमन्त्रीको जवाफ माग गरेपछि उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।
सांसदका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले माइतीघर मण्डलामा सार्वजनिक आवागमन अवरुद्ध भएकोले त्यसलाई सुचारु गराउँदा प्रदर्शनकारी घाइते भएको बताए । “प्रदर्शनकारीले सार्वजनिक आवागमन प्रभावित गरेका थिए । प्रहरीले नरोक्न अनुरोध गरेको थियो । प्रदर्शनकारीहरुले त्यो कुरा स्वीकार गरेनन्,” गृहमन्त्री थापाले भने, “प्रदर्शनकारीले यातायात अवरोध राख्ने काम जारी राखे । त्यसपछि प्रहरीले पानीको फोहराले तितरवितर ग¥यो । प्रहरीमाथि आन्दोलनकारीले ढुँगा, इँट्टा प्रहार गरे । फोहरा हान्दा पनि आन्दोलनकारी तितरबितर नभएपछि माइतीघरमा घटना घटेको हो ।” सो क्रममा केही प्रदर्शनकारी र प्रहरीसमेत घाइते भएको उनले बताए । कानुन विपरीत प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले कदम उठाएको भए त्यो दण्डनीय हुने भन्दै उनले माइतीघर मण्डला घटनाको छानबिन प्रक्रिया अघि बढिसकेको पनि बताए ।
त्यस्तै नागरिकको शान्तिपूर्ण विरोध र समर्थन गर्न पाउने अधिकारको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको थापाको भनाइ थियो । उनले माइतीघरमा भएको घटना दुखद् भएको भन्दै कानुन विपरीत दमन गर्ने प्रहरीमाथि छानबिन प्रक्रिया अघि बढेको पनि बताए । “सरकारले नागरिकहरुको शान्तिपूर्ण विरोध वा समर्थन गर्ने अधिकारलाई कुण्ठित गरियो भनेर कुरा उठाइएको छ । शान्तिपूर्ण विरोध वा समर्थन गर्ने जनताको अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध छ,” उनले भने, “सार्वजनिक शान्ति सुरक्षा र आवागमनको रक्षा गर्नु सरकारको दायित्व हो ।”

गुठी विधेयक फिर्ता लिन थापाको माग
राप्रपाका अध्यक्ष कमल थापाले गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, “गुठी व्यवस्थापनको नाममा सरकारले ल्याएको विधेयक नेपालको मौलिक धर्म, संस्कृति र परम्परा नष्टगर्ने उद्देश्यबाट अभिप्रेरित रहेको छ । विधेयक संविधानको भावना विरुद्ध छ । विधेयक तत्काल फिर्ता गरियोस् । गुठी विधेयकको बिरुद्ध हुने संघर्षमा राजनीति भन्दा माथि उठेर एकजुट हुन सबैमा आह्वान गर्दछु ।”