कारोबार संवाददाता
आइतवार, जेठ २६, २०७६
284

म्याग्दी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सरकार सर्वसत्तावादको बाटोमा अग्रसर भएको बताएका छन् । राप्रपा म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले दुईतिहाई बहुमतको आडमा संवैधानिक निकाय र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोज्नु सर्वसत्तावादतर्फ उन्मुख हुन खोजेको संकेत भएको बताए ।
सञ्चारमाध्यमसँग सम्बन्धित मिडिया काउन्सिल विधेयकमार्फत् प्रेसलाई नियन्त्रित र संकुचित बनाउन खोजेको थापाले टिप्पणी गरेका थिए । संवैधानिक अंगहरु, न्यायपालिका र सुरक्षा अंगहरुमा पार्टीको प्रभावलाई बलियो बनाउने र अन्य पेशा–व्यवसायमा संलग्नहरुप्रति गरेको कठोर व्यवहारले सरकार गलत बाटोमा अघि बढेको संकेत गर्ने थापाको भनाइ थियो ।

सरकारले आगामी आर्थिक वर्षका लागि हालै सार्वजनिक गरेको वितरणमुखी बजेट जनअपेक्षा अनुसारको नभएको बताए । उनले देशको प्रमुख समस्या बेरोजगारी अन्त्यका लागि ठोस योजना नदेखिएको र भ्रष्टाचार नियन्त्रणका लागि ओठे भाषण बाहेक नीतिगत सुधारको पहल नभएको आलोचना गरे ।
उनले राजावादीदेखि विप्लवसम्म अटाउने मौलिक लोकतान्त्रिक व्यवस्थाको विकल्प नखोजेसम्म देशमा शान्ति, स्थायित्व र विकास सम्भव नहुने बताए । हिन्दू राष्ट्र, राजतन्त्रको पुनस्र्थापना, बेरोजगारी र भ्रष्टाचारको अन्त्यका लागि खबरदारी गर्ने उद्देश्यले मुक्तिनाथबाट सुरु गरिएको स्वाभिमान यात्रा अन्तर्गत म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ, लमजुङ र गोरखामा आमसभा तथा -याली गरिने भएको छ ।
सत्तापक्ष र प्रतिपक्षको मिलेमतोमा प्रशासनिक र व्यापारिक क्षेत्रको त्रिकोणात्मक गठबन्धन बनाएर लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएकाले भ्रष्टाचार बढेको थापाको भनाइ थियो । सुनकाण्ड, वाइडवडी, सरकारी जग्गा अतिक्रमण जस्ता भ्रष्टाचारजन्य गतिविधिमा सत्ता र प्रतिपक्ष दुवै राजनीतिक शक्तिको मिलेमतो भएकाले दोषि पहिचान र कारबाही हुन नसकेको थापाको भनाइ छ ।