कारोबार संवाददाता
आइतवार, जेठ २६, २०७६
425

लमजुङ- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार लोकतन्त्रको खिलाफमा रहेको आरोप लगाएका छन् । नेपाली कांग्रेसले सुरु गरेको जागरण अभियानअन्तर्गत पहिलो चरणको अभियान समापनको क्रममा लमजुङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले यस्तो आरोप लगाएका हुन् ।
“लामो संघर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्र र नागरिकको स्वतन्त्रता नेकपा नेतृत्वको सरकारले हनन् ग¥यो,” देउवाले भने, “वर्तमान सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, स्वतन्त्र मानव अधिकारमा हस्तक्षेप गरेको छ ।”

नागरिकको स्वतन्त्रता विरोधी कुनै पनि विधेयक संसदबाट पारित हुन नदिने सभापति देउवाको दाबी थियो । वर्तमान केपी ओली नेतृत्वको सरकारको क्रियाकलापबारे आम नागरिक सचेत रहनु आवश्यक रहेको भन्दै प्रजातन्त्रका लागि फेरि पनि लडाइँ गर्नुपर्ने अवस्था आएको उनको धारणा थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले मुलुकमा शान्ीि र संविधानको नेतृत्व नगरेको भए अझै पनि मुलुकमा द्वन्द्व रहिरहने दाबी गरे । नेता शर्माले कांग्रेसका कारण नै आम नागरिकले स्वतन्त्रता पाएको भन्दै अहिलेको अधिनायकवादी सरकारले नागरिकको स्वतन्त्रता हनन्को प्रयास गरेको आरोप लगाए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु दिलबहादुर घर्ती, कमला पन्त, डा. डिला संग्रौलालगायतले मन्तव्य राखेका थिए । नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलको अध्यक्षतामा सभा भएको हो । नेपाली कांग्रेस केन्द्रिय अभियान अन्तर्गत जिल्ला कार्यसमिति लमजुङले जिल्लाका विभिन्न क्षेत्रमा कार्यक्रम गरी पहिलो चरणको जागरण अभियान सम्पन्न गरेको हो ।