दीननाथ बराल
शुक्रवार, जेठ २४, २०७६
341

पोखरा-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशमा हाल त्रिकोणात्मक ढंगबाट अर्बौंको भ्रष्टचार भएको आरोप लगाएका छन् । मिडिया नेपाल कास्कीले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले देशमा व्यापारी, प्रशासक र राजनीतिक नेताहरूको त्रिकोणात्मक गठबन्धन सृजना गरेर देशमा अर्बौंको भ्रष्टचार भएको आरोप लगाएका हुन् ।
उनले भने, “देशमा अहिले त्रिकोणात्मक ढंगबाट ब्रह्मलुट भएको छ, ठूला ठूला भ्रष्टाचारका काण्डहरूमा सरकारमात्र होइन, प्रमुख प्रतिपक्षको रुपमा रहेको नेपाली कांग्रेस पनि संलग्न रहेको आंशका गरिएको छ ।” केही वर्षदेखि भ्रष्टाचार बढेको अध्यक्ष थापाले दाबी गरे । उनले भने, “कांग्रेस र कम्युनिष्टको सहमतिको आधारमा ठूला भ्रष्टाचारका काण्डहरू रचना भएको आशंका गरिएको छ । भ्रष्टाचारको कुरा बाहिर आउँछ अनि छानबिनको प्रकृया अघि बढ्छ । तर निश्चित समय पुगेपछि जब ठूला नेताहरूको नाम गाँसिन थाल्छ । अनि सबै काण्डहरूको छानबिन स्थगित हुन्छ अनि सेलाएर जान्छ ।”

वाइडवडी जहाज भ्रष्टाचार काण्ड, एनसेलको अर्बौंको कर छलिको काण्ड, सुन तस्करी साथै पछिल्लो समयमा चर्चामा रहेको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने विषयमा दुबै पार्टीका नेताहरूको संलग्नता रहेको उनले आरोप लगाए । यस्ता भ्रष्टाचारका विषयमा सरकारले छानबिन अघि नबढाउने र प्रमुख प्रतिपक्ष दलले समेत कुरा नउठाउने उनले दाबी गरे । प्रतिपक्षका एक–दुई जना नेताले कुरा उठाए पनि पार्टी र पार्टी नेतृत्वमा रहेकाले यस विषयमा मौन बस्नुले भ्रष्टाचार भएको आफूहरूको बुझाइ रहेको अध्यक्ष थापाले जनाए ।
देशको अत्यन्तै डरलाग्दो र विकराल समस्याको रुपमा रहेको बेरोजगारी समस्याको समाधानको निमित्त सरकारले कुनै चासो नदिएको अध्यक्ष थापाले बताए । यस विषयमा संघीय सरकारको बजेट भाषणमा समेट्न नसकेको प्रति दुःख व्यक्त गर्दै अध्यक्ष थापाले सरकारको उदासिनताप्रति आफूहरू आश्र्चयजनक रहेको जनाए । उनले भने, “अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार अहिले ४३ लाखभन्दा बढी नेपाली युवाहरू रोजगारको लागि विदेशमा रहेका छन् । गत वर्षमात्र करिब पौने चार लाख युवा वैदेशिक रोजगारमा गएको उल्लेख गरिएको छ । वैदेशिक रोजगारीबाट युवालाई डिप्रेसन प्राप्त भएको छ ।”
रेमिट्यान्सबाट तत्काल देशको अर्थतन्त्र धानिए पनि यसबाट दिर्घकालिन फाइदा नहुने उनको बुझाइ छ । उनले भने, “जबसम्म हामी हाम्रो मुलुकमा रोजगारको सृजना गर्न सक्दैनौं, तबसम्म मुलुक आर्थिक रुपले सक्षम बन्न सक्दैन ।” देशभित्र रोजगारीका ठोस कार्यक्रम ल्याउनु पर्ने, ५ लाख युवा वर्षेनी रोजगारमा आउने हुँदा उनीहरूलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्नुपर्ने अध्यक्ष थापाको माग छ । हाल देशमा ५०÷६० हजार जनाले पनि रोजगार प्राप्त गर्न कठिन भएको अवस्था सृजना भएको थापाले बताए ।
विप्लव माओवादी र राजासहितको सहभागितामा गोलमेच सम्मेलन आवश्यक भएको अध्यक्ष थापाले बताए । लोकतन्त्र नै समाप्त भएर सर्वसत्तावाद वा सैनिक अधिनायकवादतर्फ देश जाने हो कि भन्ने आशंका भएको अध्यक्ष थापाको भनाइ छ । अनिष्ट नहोस् भन्नको लागि सबै पक्षहरू रहेको गोलमेच सम्मेलन आवश्यक भएको उनको भनाइ छ ।
शान्ति प्रकृयामा आउने समयमा माओवादीले नै सर्वपक्षीय गोलमेच सम्मेलनको प्रस्ताव गरेको उनले बताए । उनले भने, “माओवादीको प्रस्तावमा गोलमेच सम्मेलन नगरेर भारतको राजधानी नयाँदिल्लीमा भारतीय शासक वर्गको प्रत्यक्ष सहयोग र संलग्नतामा खाली ७ राजनीतिक दल र माओवादीबीचमात्र १२ बुँदे समझदारी भयो । एक प्रकारले माओवादीले दिगो शान्तिको लागि सुरुमा ल्याएको प्रस्तावलाई हामीले नयाँ ढंगबाट प्रस्तुत गर्न खोजेका हौं ।”
हिन्दू धर्मलाई राजसंस्थासँग जोड्दा तपाईंलाई धेरै जनताको साथ दिन छाडेका छन् नि भन्ने पत्रकारको जिज्ञासामा उनले हिन्दू धर्म र राजसंस्था राप्रपाको एजेन्डा भएकाले छाड्न नसक्ने स्पष्ट पारे । उनले भने, “राजाका वरिपरिका व्यक्तिहरूबाट सबैभन्दा बढी दुःख पाउने व्यक्ति म हुँ । मेरो पार्टी फुटाइदिने उनीहरू नै हुन् । मैले व्यक्तिगत रुपमा मनोनित गरेर बनाएका सांसद, मन्त्रीहरू १०÷१२ उता नगएको भए के हुन्थ्यो ? यसमा मैले धेरै पीडा पाएको छु ।” २०४७ यताका राजनीतिक नेतृत्व, प्रशासक, सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने उच्चस्तरीय न्यायिक आयोग गठन गरियोस् भन्ने अध्यक्ष थापाले माग गरे ।