कारोबार संवाददाता
बुधवार, जेठ २२, २०७६
351

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान संशोधनका लागि सभामुखबाट निर्देशन (रुलिङ) का लागि माग गरेको छ । सभामुखबाट प्रतिनिधिसभाको मंगलबारको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राजपाका सांसद प्रमोद साहलाई पार्टीका तर्फबाट धारणा राख्न समय प्रदान गरिएको थियो ।
सभामुखबाट समय लिएपछि सांसद साहले संविधान संशोधन अपरिहार्य भएको हुँदा सभामुखबाट यसका लागि ‘रुलिङ’ हुनुपर्ने माग गरे । उनले संविधान संशोधन गर्न माग गर्दै भएको आन्दोलनमा १२५ जनाको सहादत हुँदा पनि आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ भन्ने भनाइ आइरहँदा तराई मधेशका जनता अचम्ममा परेको बताए । उनले भने, “संविधान संशोधनको विषय बारम्बार उठिरहेको छ, प्रधानमन्त्रीबाट पनि आवश्यकता र औचित्यका आधारमा संशोधन हुने प्रतिबद्धता हँुदै आएको छ । मधेशी समुदायका १२५ जना सहादत हुँदा पनि आवश्यकता र औचित्य नदेखिनु अचम्मको विषय बनेको छ, यतिका दिनसम्म किन संविधान संशोधन हुन सकेन ?”