कारोबार संवाददाता
बुधवार, जेठ २२, २०७६
404

अर्घाखाँची- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ल्याएको बजेट राम्रो नभएको बताउँदै पाँच वर्षका लागी गठन भएको सरकारले दूरगामी ध्यान नदिई बजेट ल्याएको बताएका छन् । उनले नेकपाको चुनावी घोषणापत्रमा वायुपङ्खी घोडाको कुरा गर्ने तर अहिले बयलगाडा चढ्ने जस्तो खालको बजेट ल्याउँदा समृद्धिको सगरमाथा पुग्न नसकिने टिप्पणी गरे ।
नेपाल प्रेस युनियन अर्घाखाँचीले गरेको पत्रकार सम्मेलन र कांग्रेस अर्घाखाँचीले विपी स्मृति भवन सन्धिखर्कमा गरेको भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले भने, “सरकारले सांसद विकास कोषलाई बाँडेको रकम नीतिगत रुपमै बाँडफाँड गर्नु गलत हो । देशमा तीनवटा सरकार भएको समयमा सांसदलाई खर्च गर्ने नाममा सांसद विकास कोष राख्नु पुरानै शैली हो ।” कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका शर्माले विप्लव नेतृत्वको नेकपालाई मारकाटको विद्रोह छाडेर शान्तिपूर्ण मूलधारको राजनीतिमा आउन सुझाव दिए । बालुवाटार काण्ड र वाइडबडी खरिदमा सभापति शेरबहादुर देउवा संलग्न रहेको भए दुईतिहाइको सरकारले कारवाही गर्नुपर्ने उनको भनाइ छ ।