Logo

वार्तामा आउने तयारीस्वरूप विप्लवको बम विस्फोट : दाहाल

विराटनगर-नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले वार्तामा आउने तयारीस्वरुप केही स्थानमा विप्लव समूहको नेकपाले बम विस्फोट गराएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले विप्लव समूह चाँडै नै वार्तामा आउने दाबीसमेत गरे ।
“शान्तिपूर्ण राजनीतिमा आउनुुबाहेक विप्लव समूहसँग कुनै अर्को विकल्प छैन,” उनले भने, “हिंसाको राजनीतिबाट कहीं पनि पुग्न सकिँदैन । बरु शान्तिपूर्ण मूलधारकै राजनीतिबाट गन्तव्यमा पुग्न सकिन्छ । यो हेक्का विप्लव समूहलाई हुनुपर्छ ।” बम फड्काएपछि सरकारले चाँडै वार्तामा बोलाउँछ भनेर पनि विप्लव समूहले बम विस्फोट गराएको हुनसक्ने दाहालको भनाइ थियो ।
उनले बमको आतंक फैलाएर जुन तरिका अपनाइएको छ त्यसले कुनै पनि हालतमा उद्देश्य पूरा नहुने भन्दै प्रकारान्तमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनै पर्ने विचार व्यक्त गरे । केही स्थानमा एक–दुईवटा बम विस्फोटनका घटनालाई लिएर मुलुकमा अस्थिरता भयो भन्नु गलत हुने उनको तर्क थियो । अध्यक्ष दाहालले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना र राष्ट्रको आवश्यकता यतिखेर बम पड्काउने नभई विकास निर्माण र समृद्धिका साथ समाजवादलाई नयाँ ढंगबाट अघि बढाउनु रहेकाले त्यसतर्फ सबै मिलेर लाग्नुपर्ने बताए । विप्लव समूहमा वार्तामा आउने भए उनीहरूमाथि लगाइएको प्रतिबन्ध ठूलो समस्या नभएको उनको भनाइ थियो । “वार्तामा आउने ग्यारेन्टी भए विप्लवमाथिको प्रतिबन्ध ठूलो समस्या होइन,” उनले भने, “त्यो तत्काल हटाउन सकिन्छ ।”
दाहालले एकीकरणको समयमा भएको सहमतिअनुसार नै पार्टी र सरकार सञ्चालन हुने उल्लेख गरे । अध्यक्ष दाहालले मिडिया काउन्सिल विधेयक आवश्यकताअनुसार परिमार्जनसहित अघि बढ्ने बताए । उनले मिडिया काउन्सिल विधेयकका विषयमा राष्ट्रियस्तरमा छलफल चलिरहेको बताउँदै सो विषयमा संसदभित्र पनि यस विषयमा छलफल चल्ने प्रस्ट पारे । “परिमार्जनसहित विधेयक अगाडि बढ्छ,” उनले थपे, “पत्रकार र नागरिक समाजबाट आएका गुनासालाई सम्बोधन गर्दै विधेयक परिमार्जन हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्