कारोबार संवाददाता
बिहिवार, जेठ ९, २०७६
350

विराटनगर-नेपाली कांग्रेसका नेता महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली राज्यका सबै संयन्त्र आफू मातहत राखेर शक्तिशाली बन्न खोजेको आरोप लगाएका छन् ।
विराटनगरका पत्रकारसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका आचार्यले प्रधानमन्त्री आफूमात्रै बलियो हुने बाटोमा अगाडि बढेको दाबी गरे । “प्रधानमन्त्री केपी ओली आफूमात्रै बलियो हुने बाटोमा अगाडि बढ्नुभएको छ । पहिला देश बलियो हुनुप-यो । जनता बलियो हुनुप-यो । जनता महँगी, बेरोजगारीबाट आक्रान्त भएका छन्,” आचार्यले भने, “दम्भ, अहंकार नत्यागे प्रधानमन्त्री ओली त पतन हुने नै छन् । साथै उहाँको पार्र्टी पनि पतन हुनेछ ।” लोकतन्त्रमा प्रधानमन्त्री होइन जनता बलियो हुने उनको धारणा थियो ।

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षसँग संवाद र सहकार्य गर्न नचाहेको आरोपसमेत लगाए । अहंकार र दम्भ बोकेर हिंड्ने शासकहरू संसारबाट पतन भएको उदाहरण प्रस्तुत गर्दै आचार्यले भने, “प्रधानमन्त्रीको अहंकार र दम्भकै कारण सरकारले काम गर्न नसकेको हो ।”
त्यस्तै आचार्यले प्रधानमन्त्री असहिष्णु बन्दै गएको दाबी गरे । आचार्यले संसदको सोष्टममा उभिएर प्रधानमन्त्री ओलीले विपक्षीलाई ‘निम्छरो’ भन्दै असहिष्णु र संस्कारविहीन बोली बोलेको आरोप लगाए ।सहिष्णु बन्न र संस्कारयुक्त भाषा बोल्न प्रधानमन्त्रीलाई आचार्यले सुझावसमेत दिए
दुई तिहाईको कम्युनिष्ट सरकारका कारण जनता आक्रान्त बनेको उनको भनाइ थियो । चुनावअघि जनताका बीचमा गरेका एउटा पनि प्रतिबद्धता सरकारले पूरा गर्न नसकेको आचार्यले बताए । “भ्रष्टाचार मौलाउँदै गएको छ । कमजोर शान्ति सुरक्षाका कारण जनता ढुक्कले निदाउन सकेका छैनन् । महँगी र बेरोजगारीले जनता आक्रान्त बनेका छन्,” नेता आचार्यले भने, “त्यही पनि यो सरकार हावादारी गफ दिंदै हिंडिरहेको छ ।” संसद्, न्यायालय, प्रेस, कर्मचारी, सेनालगायत राज्यका सबै अंगलाई प्रधानमन्त्रीले नियन्त्रणमा लिन खोजेको उनको भनाइ थियो । संविधानको भावना र मर्मविरीत सरकारले मिडिया काउन्सिल विधेयक संसदमा दर्ता गरेको आचार्यले प्रस्ट पारे ।