कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६
201

नवगठित समाजवादी पार्टी नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो पार्टी संविधानले प्रत्याभूति गरेझैं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, “संविधानले नै प्रेसबारे राम्रो व्यवस्था गरेको छ । मौलिक हकका सम्बन्धमा पनि धेरै राम्रो संविधान छ ।” श्रेष्ठले आफ्नो पार्टीले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुराको विरोध गर्ने स्पष्ट पारे । उनले भने, “हामी प्रेसलाई कुण्ठित गर्ने कुराको विरोध गर्दछौं । हामी सच्याउँछौं ।”
आफ्नो पार्टीको मुख्य नीति भनेको नै जनसंघर्ष नै भएको उनको भनाइ छ । उनले भने, “सरकारसँग गरेको २ बुँदे सम्झौता कार्यान्वयन हुँदैन भने संसदको यो अधिवेशनभित्र संविधान संशोधन प्रक्रिया अघि बढाइएन भने हामी सरकारबाट बाहिरिन्छौं । सरकार, सडक र सदनबाट संघर्ष अगाडि बढाउँछौं ।”

उनले समुन्नत संघीय समाजवाद विचारधारा मान्ने जो कोही पार्टीसँग पनि एकता हुने तर नमान्नेसँग एकता नहुने स्पष्ट पारे । उनले भने, “यदि राजपाले यो विचारधारा मान्छ भने एकता हुन्छ, होइन भने हुँदैन ।”
त्यस्तै, उनले जनताभन्दा माथि बस्ने कम्युनिष्ट हुनै नसक्ने पनि टिप्पणी गरे । उनले भने, “कम्युनिष्ट हो भने त त्यहीअनुसारको आचरण हुनुपर्छ ।” उनले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेकोमा आक्रोश पोख्दै राष्ट्रपति भण्डारीलाई सामन्ती युगको महारानीजस्तो भएको संज्ञा दिए ।