कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६
271

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काठमाडौँमा क्षेत्रीयस्तरको राष्ट्रिय जनजागरण अभियान सुरुआत गरेको छ । संघीय संसद् प्रतिनिधिसभामा नेपाली कांग्र्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले काठमाडौँको क्षेत्र नं ३ बाट शनिबार जागरण अभियान शुरु गरेका हुन् । नेपाली कांग्रेस ३ नं क्षेत्रीय समितिले जोरपाटीमा आयोजना गरेको कार्यक्रममा उनले हरेक स्थानमा पुगेर नागरिकका कुरा सुनिने बताए । सरकार संविधानविपरीत प्रेस स्वतन्त्रता तथा मानव अधिकारलाई कुण्ठित गर्न लागेकामा प्रमुख प्रतिपक्षी दलले खबरदारी गरिरहने उनले बताए ।
पार्टी केन्द्रीय सदस्य अम्बिका बस्नेतले जागरणका माध्यमबाट नेपाली कांग्र्रेसले आफैँ परिवर्तन हुन लागेको बताए । कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँ, ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, सचिव शान्ति नेपाल लगायतले जनताले भोग्नुपरेका समस्याको जानकारी लिन वडा एवं टोलस्तरमा पुगेर जनगुनासा सङ्कलन गर्न लागिएको बताए ।

वैशाख २५ गते शुरु भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गते सकिनेछ । दोस्रो चरणको जागरण अभियान बिपी जयन्तीका अवसरमा भदौ २४ गतेदेखि असोज ७ गतेसम्म गरिने छ । तेस्रो चरणको जागरण अभियान पुस ७ गते शुरु गरी मेलमिलाप दिवसका अवसरमा पुस १६ गते समापन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।
नेपाली कांग्र्रेस केन्द्रीय कार्यालयले जनजागरणका अवसरमा मञ्चमा पाँच जनाभन्दा बढी नराख्ने, एक जना महिला अनिवार्य राख्नेलगायत निर्देशन दिएपछि कार्यक्रम छोटो र प्रभावकारी हुन थालेको अनुभव कार्यकर्ताले सुनाए ।