कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६
280

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राज्यले मिडियालाई टक्कर दिन नखोजेको बताएका छन् । सरकार मिडियालाई स्वतन्त्र बनाउने पक्षमा नै रहेको मुख्यमन्त्री पोख्रेलको भनाइ थियो । “अहिलेको सरकार मिडियालाई कमजोर बनाउने पक्षमा छैन,” पोख्रेलले भने । लोकतन्त्रमा मिडियालाई कमजोर बनाउन नसकिने उनको भनाइ छ ।
“मिडियालाई सबल र सक्षम बनाउनु राज्यको दायित्व हो,” दाङको घोराहीबाट प्रसारण हँुदै आएको रेडियो मध्यपश्चिम ९१.४ मेगाहर्जको १३ औं स्थापना दिवसको उद्घाटनमा उनले भने । मिडियामा पनि विकृति रहेको भन्दै उनले यसलाई रोक्न जरुरी रहेको बताए । मिडियामा भाइरस छिर्न नदिनका लागि पत्रकारहरुले पनि सहयोग गर्नुपर्ने उनको भनाइ रहेको छ ।
फरक प्रसंगमा मुख्यमन्त्री पोख्रेलले अब समृद्धिका लागि अगाडि बढ्नुपर्ने बताए । प्रदेश नं ५ सरकार कानुन निर्माण, आवधिक योजना िनर्माण, बजेट खर्चमा अन्य प्रदेश भन्दा अगाडि रहेको दाबी उनले गरे । जनप्रतिनिधि आएपछि विकासको कामले गति लिएको समेत उनले बताए । प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले सञ्चारमाध्यम आफ्ना कमिकमजोरी सच्चाएर अगाडि बढ्नुपर्ने बताए ।