केशव समर्पण
बुधवार, जेठ १, २०७६
370

स्थापनाको झण्डै डेढ वर्षपछि ३ नम्बर प्रदेश सरकारले स्थायी राजधानी निर्धारण गर्न कार्यविधि बनाएको छ । स्थायी राजधानी तोक्ने विषयमा तयार परिएको कार्यविधि मंगलबार साँझ बसेको प्रदेशसभामा पेश गरिएको छ ।
योसँगै नेपाली कांग्रेसले गर्ने भनेको अवरोध हटेको छ । नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँलले सदनमा पेश गरेको कार्यविधिलाई नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले समर्थन गरेकी थिइन् । प्रदेशसभाले गठन गरेको राजधानी सम्भाव्यता अध्ययन समितिले तयार गरेको प्रतिवेदनको आधारमा कार्यविधि तयार गरिएको हो । समितिले सिफारिस गरेको स्थानहरुलाई वर्णानुक्रमअनुसार मतदान प्रक्रियामा लैजाने कार्यविधिमा उल्लेख गरिएको छ । सभामुखले मतदानका लागि आह्वान गरेपछि प्रस्तावको पक्ष र विपक्षमा सांसदहरुले मतदान गर्नेछन् । तर, निर्वाचनको मिति भने तोकिएको छैन । निर्वाचनको मिति घोषणा गर्ने जिम्मा सभामुखलाई दिइएको नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले जानकारी दिइन् । समितिको प्रतिवेदनअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरमाथि मतदान हुनेछ । जुन प्रस्तावले दुई तिहाई ल्याउँछ त्यो नै राजधानीको रुपमा घोषणा हुन्छ ।
नेपाली कांग्रेसले राजधानीको विषय संसदमा प्रवेश नगरुञ्जेल सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि यो प्रस्ताव आएको हो । मंगलबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले राजधानीको विषय जसरी पनि प्रवेश पाउनु पर्ने दबाब दिएपछि कार्यविधि सदनमा पेश भएको हो । चार बजेका लागि आह्वान गरिएको बैठक यही छलफलका कारण साढे ६ बजेमात्रै बसेको हो ।
हिउँदे अधिवेशनमा नै राजधानीको विषय टुंगो लगाउन कार्यविधि तयार गरिने भनिए पनि अधिवेशन अन्त्यको आह्वान भएपछि यो विषय टरेको थियो । यो पटक भने बजेट अधिवेशनको क्रममा राजधानी टुंगो लगाउनैपर्ने अडानका कारण सरकार दबाबमा छ । आज सरकारले आगामी आर्थिक वर्षको सिद्धान्त तथा प्राथमिकता पेश गर्नै पर्ने बाध्यात्मक व्यवस्था रहेकोले पनि सरकारले सदन खुलाउने प्रयासस्वरुप कार्यविधि ल्याएको हो ।

‘गौरिशंकर’ नाम राख्न प्रस्ताव
प्रदेश ३ को नामको बारेमा पनि एउटा प्रस्ताव दर्ता भएको छ । मंगलबारको प्रदेश सभामा सांसद विशाल खड्काले प्रदेश तीनको नाम ‘गौरिशंकर’ राख्न प्रस्ताव दर्ता गराएका हुन् । धार्मिक तथा सांस्कृतिक विविधताकाबीच एकता, हिमाल हुनुको गौरवता र औपचारिक समयको निर्धारण स्थलको उच्च सम्मान गर्दै प्रदेश तीनको नाम गौरिशंकर राखिनु पर्ने खड्काले तर्क प्रस्तुत गरेका छन् ।
राजधानीको विषयमा औपचारिक प्रवेश पाएको प्रदेशसभामा नामको विषयमा पनि प्रस्ताव दर्ता भएको हो । यसअघि राजधानी कायम गर्न पनि यसैगरी प्रस्ताव दर्ता भएपछि सम्भाव्यता अध्ययन समिति गठन गरिएको थियो । सोही समितिका सदस्य खड्काले प्रदेशको नाम प्रस्ताव गरेका हुन् । यस्तै, सांसद प्रेमबहादुर तामाङले भने संसदमा बोल्ने क्रममा प्रदेशको नाम नेवा ताम्सालिङ राख्नु पर्ने बताए ।

दुई विधेयकको प्रतिवेदन पेश
मंगलबारको प्रदेशसभामा दुई वटा विधेयकको प्रतिवेदन पेश गरेको छ । ‘प्रदेश बीउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा बनेको विधेयक’ को प्रतिवेदन पेश गरिएको छ । शिक्षा, स्वास्थ्य तथा कृषि समितिले तयार गरेको प्रतिवेदन समितिका सभापति घनश्याम दाहालले मंगलबार पेश गरेका हुन् ।
यस्तै, ‘प्रदेशस्तरमा जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक’ पनि मंगलबार नै पेश भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले विधेयक पेश गरेका हुन् । प्रदेशसभाको अर्को बैठक आज बुधबार २ बजे पुनः बोलाइएको छ ।