कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६
266

सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको कार्यावधि थप गरेको छ । कार्की यसअघि तत्कालीन एमालेको कोटाबाट राजदूत नियुक्त भएका थिए । गत २० गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीको कार्यावधि थप गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
सरकारले विद्युत नियमन आयोगको अध्यक्ष पदमा दिल्लीबहादुर सिंहलाई नियुक्त गरेको छ । विद्युत नियमन आयोगकै सदस्य पदमा रामप्रसाद धिताल, रामकृष्ण खतिवडा, रामेश्वरप्रसाद कलवार र भागीरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरिएको बास्कोटाको भनाइ छ ।

मन्त्रिपरिषद् बैठकले नुवाकोटको रातमाटे, धादिङ, चितवन, तनहुँ, मकवानपुर र नवलपरासीको बर्दघाटसम्मको विभिन्न स्थानको करिब १४४० हेक्टर जग्गा ४०० के.भी. प्रशारण लाईन तथा सबस्टेशन निर्माण गर्ने प्रयोजनका लागि प्राप्त गर्ने निर्णय गरेको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा नीतिगत सुधारको क्रममा बजेट सहयोगको रूपमा प्राप्त हुने दोस्रो कार्यक्रमगत ऋण सहायता एक सय मिलियन अमेरिकी डलर बराबरको रकम स्वीकार गर्ने निर्णय गरिएको बास्कोटाले बताए ।
२० गतेकै मन्त्रिपरिषद् बैठकले अध्यागमन नियमावली, २०५१ को नियम ४६ बमोजिम अनुसूची ९ र अनुसूची १२ हेरफेर गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूलाई पाँच वर्षका लागि एक भिसा वर्षमा तोकिएको भन्दा बढी कार्यरत नहुने गरी निःशुल्क अध्ययन भिसा कोटा उपलब्ध गराउने निर्णय पनि सोही मन्त्रिपरिषद् बैठकले गरेको छ ।
विगतमा सडक विभागबाट सञ्चालनमा रहेका सम्भावित रणनीतिक सडकमा समावेश लोकसञ्चार मार्ग (जिलिङ–सिमखेत–केउरिनी–कुमरी–झ्याङ्गलेपोखरी–आचार्य पोखरी–धार्के–नुवाकोट–धादिङ) सडक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत ल्याई सञ्चालन गर्ने निर्णय भएको छ ।
हेटौडा–ढल्केबर–दुहवी ४०० के.भी. प्रसारणलाईन आयोजना (दोस्रो खण्ड) को राइट अफ वेभित्र विभिन्न सामुदायिक वनसहितको राष्ट्रिय वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका थप ८९९ वटा रूखविरुवाहरू हटाउन पनि सरकारले स्वीकृति प्रदान गरेको छ । नेपाल र भियतनाम सरकारबीच हुने हवाइ सेवा सम्झौतामा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिइएको बास्कोटाले जानकारी दिए ।