धर्मेन्द्र कर्ण
सोमवार, बैशाख २३, २०७६
349

राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरूले नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकता प्रक्रियाबाट आफूहरु चकित भएको बताएका छन् । राजपा, फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरणको पहल सुरू भएको थियो । त्यतिखेर नयाँ शक्तिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संविधान मस्यौदा समितिका सभापति थिए ।
तर, संविधान घोषणाका बेला गर्नुपर्ने ठाउँमा कुनै पहल नगरी बाहिर आएर पार्टी छोडेको घोषणा गरेपछि नयाँ शक्ति गठन गरेका थिए । यो विषयले राजपामा आबद्ध दलका नेता र तराई मधेशका आम मानिसमा अविश्वास पैदा गराएको थियो । जनकपुरमा सम्बोधन गर्न जाँदा त्यो आक्रोश भट्टराई विरूद्ध देखिएको थियो ।

अहिले पार्टी एकीकरण प्रक्रियाका बारेमा यी तीनवटै पार्टीका नेताहरूले अनौपचारिक रूपमा छलफलमा रहेका थिए । वैशाख ७ गते राजपाका नेता महन्थ ठाकुरले आफूहरु एकीकरणको अनौपचारिक छलफलमा रहेको बताएका थिए ।
भट्टराई र उपप्रधानमन्त्री तथा फोरम अध्यक्ष उपेन्द्र यादवबीच वार्ता टुंग्याउन भइरहेको अन्तिम छलफलका बेला राजपाका नेताहरू ठाकुर र राजेन्द्र महतोले आफूहरुले पनि आन्तरिक छलफल टुंग्याउनै लागेकोले केही दिन पर्खनुस् भनेका थिए ।
स्रोतले जनाएअनुसार भट्टराई र यादवबीचको वार्ता अन्तिम चरणमा पुगेकाले राजपाका लागि तत्काल पर्खन नसकिएको हो । यसअघि पनि पार्टीहरूबीच एकीकरण हुनै लाग्दा यादवले अशोक राईको संघीय समाजवादी पार्टीसँग एकीकरण गर्न पुगेका थिए ।
अहिले पनि वार्ताको पत्र पठाएर भट्टराईसँग एकता गर्न पुगेका हुन् । यसबाट राजपाका नेताहरूमा आंशका बढाएको छ । पूर्वप्रधानमन्त्री भट्टराई र उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भई बन्ने समाजवादी पार्टी नेपाल संसद्को तेस्रो ठूलो पार्टी बन्ने भएको छ ।
जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमनता विभेद र शोषणको अन्त्य गरी सघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि यो पार्टी गठन भएको प्रतिबद्धता दुबै पार्टीका अध्यक्षहरूले गरेका छन् ।
संविधान घोषणा भई गठन भएको पहिलो विद्यमान संसद्मा सदस्य संख्या ३३४ रहेका छन् । यसमा माथिल्लो सदन राष्ट्रिय सभामा ५९ र तल्लो सदन प्रतिनिधिसभामा २७५ सदस्य छन् । प्रतिनिधि सभामा सत्ताधारी पार्टीका सांसदहरूको संख्या १९० रहेको छ । यसमा नेकपाको १७४ र संघीय समाजवादी फोरमको १६ सांसद संख्या रहेको छ । प्रतिपक्ष तर्फको सांसदहरूको कुल संख्या ८५ रहेको छ । यसमा नेपाली कांग्रेसको ६३, राष्ट्रिय जनता पार्टीको १७ र स्वतन्त्र ५ जना रहका छन् ।
यसैगरी ५९ जना राष्ट्रियस सभामा सरकारतर्फ नेकपाको ४२ र संघीय समाजवादी फोरमको २ गरी कुल ४४ रहेका छन् भनेप्रतिपक्षी तर्फ १५ रहेका छन् यसमा कांग्रेस १३ र राजपा २ रहेका छन् ।
प्रतिनिधिसभाको आधारमा स्वतन्त्रको कित्तामा परेका पूर्व प्रधानमन्त्री डा. बाबुरामको सहभागिताले फोरमलाई १७ बनाउने छ भने राजपाको एक जना सांसद निलम्बनमा परेपछि १६ हुने भएको छ । कैलालीका सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि उनको पद निलम्बनमा पर्न गई १६ मा झर्दा फोरम र नयाँ शक्तिको एकताले बन्ने समाजवादी पार्टी नेपाल अब सदनको तेस्रो ठूलो पार्टी हुने भएको छ ।
राजपाले एक सिट गुमाउँदा र फोरमको एक सिटको फाइदाले उसको हैसियत सदनमा तेस्रो ठूलो दलको रूपमा हुनेछ । तर राजपा पनि मिलेर गएपनि कांग्रेसको दोस्रो स्थान हटाउन सक्ने स्थिति रहेको छैन । नेपाली कांग्रेसका प्रतिनिधिसभामा ६३ सदस्य छन् । तेस्रो र चौथो दुवै पार्टी मिलेमा कांग्रेसको आधा जति हुने छ ।
राजपाका कतिपय नेताहरूले उनीहरूसँगको एकता हुन नसक्ने जनाए पनि राजपाका नेताहरू अहिले पर्ख र हेरको स्थितिमा पुगेका छन् । उनीहरूले फोरमको गतिविधि र आफ्नो आन्तरिक राजनीति मिलाउनका लागि महाधिवेशन सारेर कात्तिक अन्तिम सातामा लगिसकेका छन् ।
समाजवादी पार्टी नेपालको महाधिवेशन असोजतिर हुने नेताहरूले बताएका छन् । नयाँ शक्तिका विश्वदीप पाण्डेले जनाएअनुसार महाधिवेशन र सरकारबाट हट्ने विषय बन्ने पार्टीको निर्णयबाट हुनेछ ।
राजपाका उपाध्यक्ष सत्यनारायण मण्डलले जनाएअनुसार अब पार्टीको एकीकरण प्रक्रियाका बारेमा अब समाजवादी पार्टीले फेरि पहल थाल्नु पर्नेछ । उनले भने, “हुनुपर्ने एकता अहिले भएन भने अब फेरि पहल शुरू हुनुपर्ने देखिएको छ ।”


सातामा धेरै पढिएको