रासस
बिहिवार, बैशाख १९, २०७६
1045

प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै संलग्न भए पनि सरकारी जग्गा फिर्ता ल्याइने दृढता व्यक्त गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बालुवाटारको ललिता निवास र अन्यत्रका सरकारी जग्गा फिर्ता ल्याइने बताएका हुन् ।
उनले भने, “अहिले सरकारी जग्गाका विषयमा सरकार र पार्टीलाई बदनाम गराउन खोजिँदैछ तर यो धेरै पहिलेदेखि भएको कारोबार हो । यसमा हाम्रा पार्टीका महासचिव विष्णु पौडेल त्यसबेला कुनै पदमा नभएकाले सत्ताको दुरुपयोगमा उहाँको संलग्नता छैन ।” उनले सरकारी जग्गा वा वाइड बडी प्रकरणमा छानबिन भइरहेकाले सत्यतथ्य बाहिर आउने पनि स्पष्ट गरे ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाका साथ सरकार अघि बढिरहेकाले नेता, सांसद र कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै उनले आउँदो बजेटमा वृद्धभत्ता बढाइने जानकारी पनि दिए । उनले केही वर्षभित्र कोही पनि गरीबीको रेखामुनि जनता नरहने जिकिर पनि गरे ।