कारोबार संवाददाता
बुधवार, बैशाख १८, २०७६
549

स्थायी राजधानी र नाम तोक्न नसकिरहेका बेला प्रदेश–१ सरकारले मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गर्ने निर्णय गरेको छ ।
सरकार गठन भएको १४ महिना बितिसक्दा पनि प्रदेश सरकारले स्थायी राजधानी र नामको टुंगो लगाउन सकेको छैन । राजधानी र नामको टुंगो लगाउन विलम्ब भएको भन्दै सरकारको चौतर्फी आलोचना हुने गरेको छ । यसै क्रममा मंगलबार बसेको प्रदेश–१ सरकार मन्त्रिपरिषद्को बैठकले सम्पर्क कार्यालय धनकुटामा राख्ने निर्णय गरेको हो । सरकारले वैशाख २२ गतेभित्र प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउने बताउँदै आएको छ ।
प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउनुभन्दा अगाडि सम्पर्क कार्यालय स्थापना गर्नुलाई प्रदेशका मन्त्रालय र कार्यालयहरूलाई विकेन्द्रित गर्ने संकेतका रूपमा लिन सकिन्छ । हाललाई क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहने व्यवस्था गरिएको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । यस्तै धनकुटामा नै यातायात व्यवस्था कार्यालयको सेवा कार्यालयसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले समानीकरण अनुदान र सवारी करको बारेमा पनि सरकारले थप गर्ने निर्णय गरेको छ । समानीकरण अनुदानको हाल दिइएको ५० करोडलाई बढाएर १ अर्ब पु¥याउने निर्णय गरेको छ । त्यस्तै सवारी साधन करको अनुमानित लक्ष्य पूरा हुने भएपछि त्यसको सीमा पनि बढाउने निर्णय गरिएको छ । चैतसम्म मात्र म्याद रहेको कानुन तथा मस्यौदा समितिको म्याद थप गरी असार मसान्तसम्मका लागि तोकिएको छ ।