कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६
414

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय चीन भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास दिलाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महत्व दिएको स्पष्ट पारे ।
उनले भने, “उनको भ्रमणपछि नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध थप नयाँ उचाईंमा पुग्छ । राष्ट्रपतिको यो भ्रमणले सदियौंदेखि रहँदै आएको नेपाल–चीन सौहार्दपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने छ । चीनको विकाससँग नेपालको विकासलाई जोड्ने विभिन्न माध्यम र उपायहरुको खोजी गर्नेछ ।”

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले भ्रमणको दौरान दुईपटक सम्बोधन गर्ने कार्यक्रम रहेको पनि सुनाए । उनले भने, “बेल्ट एण्ड रोड ईनिसिएटिभ फोरम, जहाँ सयभन्दा बढी राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु सहभागी हुन्छन्, त्यसमा उहाँले दुईपटक सम्बोधन गर्नुहुनेछ । चिनियाँ राष्ट्रपति सि जिनपिङले सञ्चालन गर्ने राउण्ड टेबलमा पनि सम्बोधन गर्नुहुनेछ ।”
मन्त्री ज्ञवालीले अप्रिल २९ तारिखमा चिनियाँ राष्ट्रपतिसँग द्धिपक्षीय औपचारिक वार्ता गर्ने र त्यही दिन विभिन्न सन्धि, सम्झौता तथा प्रोटोकलमा हस्ताक्षर गर्नेपनि जनाए ।
त्यस्तै मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले चीनको प्राचिन शहर र चिनियाँ राष्ट्रपतिको गृहनगरसमेत रहेको सियानको भ्रमण गर्ने कार्यक्रम रहेको समेत जनाए । राष्ट्रपति भण्डारीले चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासाको पनि भ्रमण गर्ने र प्रान्तीय गभर्नरसँग भेटवार्ता गर्ने पनि कार्यक्रम छ ।
चिनियाँ उच्चस्तरीय नेतृत्वको नेपाल भ्रमण छिट्टै हुनेमा आफूहरु आशावादी रहेको पनि उनले सुनाए । उनले भने, “उचित समयमा चिनियाँ उच्चस्तरीय राजनीतिक नेतृत्वको भ्रमण हुनेछ ।” यही वैशाख अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाने पनि उनले जानकारी दिए ।