कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६
384

झापा:नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार र पञ्चायत कालमा केही पनि फरक नभएको आरोप लगाएका छन् । सोमबार कांग्रेस झापा ५ नम्बर क्षेत्रीय समितिको भवन उद्घाटनका लागि झापा आएका देउवाले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वर्तमान सरकार अधिनायकवादततर्फ उन्मुख रहेकाले पञ्चायत काल र वर्तमान समय बीच कुनै पनि फरक नरहेको जिकिर गरे ।
“सरकारले प्रेसमाथि अंकुश लगाउने खालको विधेयक ल्याउने तयारी गरिरहेको छ,” देउवाले भने, “प्रेसका कुनै पनि अंगमा आक्रमण गर्नु नै सरकार अधिनायकवादततर्फ उन्मुख हुने प्रमुख संकेत हो ।” प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका पूरक रहेको बताउँदै उनले प्रेसलाई अंकुश लगाउन केन्द्रित भएको सरकारलाई प्रेस स्वतन्त्रता बारे जानकार हुन आग्रह गरे ।

सरकारका प्रत्येक काम अधिनायकवाद रहेको आरोप लगाएका देउवाले आफू शक्तिशाली भनेर व्याख्या गर्ने प्रधानमन्त्री नै अधिनायकवादको उदाहरण बनेको आरोप लगाए । “प्रधानमन्त्रीले आफ्नै सुरक्षा परिषद्, राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग लगायत निकायलाई विश्वास गर्न नसकेर सेना परिचालन गर्न सक्ने विधेयक ल्याउन लागेका छन्,” देउवाले प्रश्न गरे, “ आफ्नै मान्छेलाई विश्वास नगर्ने वर्तमान सरकारलाई आम नागरिकले के भन्ने ?”
कांगे्रसलाई कमजोर प्रतिपक्ष भनेर सरकारले लगाएको आरोपको खण्डन गरेका देउवाले प्रजातन्त्रमा प्रतिपक्ष सधै बलियो नै हुँदै आएको तर्क गरे । कांग्रेसको प्रतिपक्षी भूमिकालाई कमजोर देखाएर जिम्मेवारी वहन गर्न सरकार पन्छिने दाउमा रहेको उनले उल्लेख गरे । कांग्रेसको आगामी महाअधिवेशनमा सहमतिअनुसार अघि बढ्ने विषयमा पार्टीभित्र छलफल भइरहेको देउवाले बताए ।
सत्ताको फाइदा उठाउन केही नेता लिप्त बन्दै आएको आरोप लगाएका देउवाले ललिता निवास लगायत सरकारी जग्गा अधिग्रहणको विषयमा अधिग्रहण गरिएको भनिएका जग्गा सुवर्ण शमशेरका जग्गा भएको उनले दाबी गरे । “श्रीमती ललिताको नाम रहेको जग्गामा अहिले प्रधानमन्त्री, सभामुख र प्रधानन्यायधीश निवास रहेको छ, ती सबै जग्गा सुवर्ण शमशेरकै हुन्,” देउवाले भने, “उक्त जग्गा फिर्ता हुने हो भने जग्गाको हक सुवर्ण शमशेरका छोरा नातिले पाउनुपर्छ, अरु कसैको अधिकार छैन ।”
सोमबार नै नेपाली कांग्रेस झापा क्षेत्र नम्बर– ५ को नवनिर्मित भवनको उद्घाटनमा कांग्रेस सभापति देउवासँगै उपसभापति विजय कुमार गच्छदार, कांग्रेस महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य धनराज गुरुङ, सरिता प्रसाईं, डिना उपाध्याय लगायतको उपस्थिति थियो । उनीहरुले वर्तमान सरकार इतिहासकै असफल सरकार भएको दाबी गरे ।
कांग्रेस उपसभापति गच्छदारले मुलुकको विकासमा सरकारसँग सहकार्य गर्न कांग्रेस तयार भए पनि सरकारले विपक्षीको आवाजलाई सुन्ने नचाहेको दुखेसो पोखे । आफ्नो पार्टीका कार्यकर्ता बाहेक कसैलाई पनि जनता नदेखेको यो सरकारले मुलुकको विकास गर्न नसक्ने दाबी उनले गरे ।