कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६
441

नेता नेपालको असन्तुष्टि कायमै

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लामो समयसम्म विवादमा रहेको विषयलाई पुरानो मापदण्डलाई फेरेर जिल्ला तहको एकीकरण प्रक्रिया टुंगोमा पु-याए पनि वरिष्ठ नेता माधवकुमार नेपालले घोषणा कार्यक्रममा असन्तुष्टि व्यक्त गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया टुंग्याउनका लागि नेतृत्वका जनप्रतिनिधिहरूलाई पनि समावेश गर्ने निर्णय गरेर त्यसको सार्वजनिक घोषणा कार्यक्रममा वरिष्ठ नेता मञ्चबाट बाहिरिएर असन्तुष्टि जनाएको नेपाल निकट स्रोतले जनाएको छ ।
सोमबार नेकपा एकीकरणको घोषणासभा चलिरहँदा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मञ्चबाट बाहिरिएपछि प्रज्ञा भवनमा उपस्थित पार्टी समर्थक तथा दर्शकदीर्घामा कानेखुसी भएको थियो

नेकपा स्थापनाको ७० वर्ष र लेनिन जयन्तीको अवसर पारेर पार्टीले दुई पार्टी अध्यक्षसहित नेकपा एकीकरणको घोषणा कार्यक्रम तय गरेको थियो । सो कार्यक्रममा जिल्ला कमिटीको अध्यक्ष र सचिवहरुको सूची सार्वजनिक हुनासाथ माधव नेपाल अचानक हलबाट बाहिरिएका थिए ।
कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष र सचिवको मात्र नाम सार्वजनिक भएको र अन्य जिल्ला पदाधिकारीको नाम गोप्य राखिएकोमा नेपालको असहमति रहेको स्रोतको दाबी रहेको छ । सो कार्यक्रममा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कसैले राजतन्त्र व्यूँताउने सपना देखेको भए त्यो केवल सपनामात्र हुने टिप्पणी गरे ।
सम्बोधन भाषणामा ओलीले भने, “कोही पनि जन्मिदै ठूलो र राजा नभई हाल्ने भएकोले अब यो मुलुकमा राजतन्त्र व्यूँताउने सपना नदेख्न म साथीहरुलाई आग्रह गर्दछु ।”
यसैगरी पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए । प्रतिक्रियावादीहरूको चलखेलबारे चिन्ता व्यक्त गर्दै उनले भने, “नेपालभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरुले नेपालको कम्युनिष्ट आन्दोलन, एकता र स्थितिलाई कसरी कमजोर पार्न सकिन्छ भनेर अनेक किसिमका तानाबाना बुन्नेहरु सक्रिय छन् ।”
पार्टीले वैशाख ८ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहमा पार्टी एकीकरणको कामलाई अघि बढाउने सन्दर्भमा जिल्ला तहको एकीकरण सम्पन्न गर्ने महत्वपूर्ण निर्णय गरेको विज्ञप्ति जारी गरी जनाएको छ । पार्टीले अपनाएको निश्चित मापदण्डका आधारमा एकता प्रक्रिया टुंग्याएको जनाउँदै भनेको
छ, “ जनप्रतिनिधिको जिम्मेवारीमा रहनुभएका कमरेडहरु पनि पार्टी जिल्ला कमिटीको अध्यक्ष तथा सचिवको जिम्मेवारीमा रहन सक्ने, साविक नेकपा (एमाले)का जिल्ला कमिटी अध्यक्ष र नेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटीका प्रमुखहरु सम्बन्धित जिल्ला कमिटीमा अध्यक्ष वा सचिवको जिम्मेवारीमा रहने, जिल्ला कमिटीमा विगतमा कार्यदलले सिफारिस गरेबमोजिमको सदस्य संख्या रहने छ ।”
यसैगरी जिल्ला कमिटीमा साविक जिल्ला कमिटीका सदस्यहरु रहने, कमिटीमा सदस्य संख्या थप्न मिल्ने अवस्था भएमा सम्बन्धित प्रदेश कमिटीले वरिष्ठ र सक्षम कमरेडहरु मध्येबाट थप्ने, साविक जिल्ला कमिटीको सदस्य संख्या बढी भएमा सम्बन्धित प्रदेश कमिटीले साविक जिल्ला कमिटीका वरिष्ठ र सक्षम कमरेडहरुलाई जिल्ला कमिटीमा संगठित गर्ने, जिल्ला कमिटीको सदस्य संख्याको अनुपात अनुरुप हुनेगरी सम्बन्धित जिल्ला कमिटीले वरिष्ठता र क्षमताका आधारमा आफ्नो तहको सचिवालय र कार्यालय गठन गर्ने उल्लेख गरिएको छ ।
पार्टी नेताहरूका अनुसार यो एकीकरण प्रक्रियामा ४४ एमाले र माओवादीलाई ३३ जिल्ला नेतृत्व दिइएको छ ।


कहाँ को अध्यक्ष ?

तत्कालीन एमालेबाट
प्रदेश नम्बर १
पाँचथर– राजकुमार भण्डारी
इलाम– राम राना
झापा– चिन्तन पाठक
मोरङ– विनोद ढकाल
धनकुटा– राजेन्द्र राई
तेह्रथुम– लक्ष्मण तिवारी
संखुवासभा– हेमराज घिमिरे
भोजपुर– प्रेमकुमार राई
सोलुखुम्बु– मानवीर राई

प्रदेश नम्बर २
सप्तरी– अशोक मण्डल
महोत्तरी– राजु खड्का
रौतहट– कमल यादव
पर्सा– प्रभु हजारा

प्रदेश नम्बर ३
मकवानपुर– मुनु सिग्देल
धादिङ– भूमि त्रिपाठी
रसुवा– कन्र्याल तामाङ
सिन्धुपाल्चोक– झम्क नेपाल
दोलखा– ईश्वरचन्द्र पोख्रेल
सिन्धुली– राजन दाहाल
भक्तपुर– बचनबहादुर देउजा
ललितपुर– हरिकृष्ण व्यञ्जनकार
काठमाडौं– कृष्ण राई

गण्डकी प्रदेश
कास्की– कृष्ण थापा
तनहुँ– केदार सिग्देल
मुस्ताङ– चन्द्रमोहन गौचन
मनाङ– पाल्तेन छोयान गुरुङ
बाग्लुङ– ईन्द्रलाल सापकोटा
पर्वत– पदम गिरी
नवलपरासी (पूर्व)– रोशन गाहा

प्रदेश नम्बर ५
प्यूठान– तुलसीराम शर्मा
अर्घाखाँची– चेतनारायण कँडेल
गुल्मी– मधुकृष्ण पन्त
पाल्पा– नारायण आचार्य
रुपन्देही– शिवराज सुवेदी
कपिलवस्तु– झविलाल पोख्रेल
दाङ– टिकाराम खड्का

कर्णाली प्रदेश
सुर्खेत– धु्रव शाही
दैलेख– रविन्द्र शर्मा
सल्यान– गोविन्द पुन
डोल्पा– दत्तबहादुर रोकाया

सुदूरपश्चिम प्रदेश
बैतडी– सुरेन्द्र पाल
बाजुरा– कालुबहादुर शाही
अछाम– शेरबहादुर कुँवर
डोटी– चक्रबहादुर मल्ल
कैलाली– रतन थापा

तत्कालीन माओवादीबाट
प्रदेश नम्बर १
ताप्लेजुङ– विजय बनेम
सुनसरी– योगेन्द्र मण्डल
खोटाङ– देवान चामलिङ
ओखलढुङ्गा– मोहनबहादुर खड्का
उदयपुर– विनोद कटुवाल

प्रदेश नम्बर २
सिराहा– रामकुमार यादव
धनुषा– राजकिशोर यादव
सर्लाही– रेवती पन्त
बारा– छत्रबहादुर श्रेष्ठ

प्रदेश नम्बर ३
चितवन– यमबहादुर परियार
नुवाकोट– हिरानाथ खतिवडा
रामेछाप– मदनकुमार तामाङ
सिन्धुली– राजन दाहाल
काभ्रेपालञ्चोक– रुकु चौलागाई

गण्डकी प्रदेश
लमजुङ– मधु अधिकारी
गोरखा– लेखबहादुर थापा
म्याग्दी– गोविन्द पौडेल
स्याङ्जा– सूर्यप्रसाद गैरे

प्रदेश नम्बर ५
रोल्पा– सुरेन्द्र घर्ती
रुकुम (पूर्व)– मेघबहादुर श्रेष्ठ
नवलपरासी (पश्चिम)– भविश्वर तिवारी
बाँके – आई.पी. खरेल
बर्दिया– भवनकुमार थारु

कर्णाली प्रदेश
जाजरकोट– ढकवीर राना
रुकुम (पश्चिम)– गोपाल शर्मा
जुम्ला– बीरबहादुर कुँवर
कालिकोट– धनजीत शाही
हुम्ला– लालकेश जैसी
मुगु– सुरवीर बुढा

सुदूरपश्चिम प्रदेश
दार्चुला– गणेशसिंह खत्री
डडेल्धुरा– मानसिंह माल
बझाङ– मीनबहादुर कुँवर
कञ्चनपुर– बीरबहादुर थापा