कारोबार संवाददाता
सोमवार, बैशाख ९, २०७६
312

सरकारले हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग गर्दै आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन आह्वान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट वार्ताका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई संयोजक तोकेका छन् । मन्त्री ढकालले राप्रपालाई वार्ताका लागि यही वैशाख १० गते अपराह्न १ बजे लिखित पत्रसमेत पठाइसकेका छन् ।

मन्त्री ढकालले भने, “राप्रपाका तर्फबाट प्रधानमन्त्रीलाई दिइएको लिखित २२ बुँदे ज्ञापनपत्रका सम्बन्धमा वार्ता बोलाउने तयारी भएको हो । मैले आजै वैशाख १० गते वार्तामा आउन लिखितपत्र पठाएको छु ।” प्रधानमन्त्री ओलीलाई राप्रपाले गत फागुन ७ गते २२ बुँदे माग बुझाएर मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रालगायत सडक प्रदर्शन कार्यक्रम गरिरहेको छ ।
राप्रपाका प्रवक्ता भुवन पाठकले कानूनमन्त्री ढकालले राप्रपालाई वार्तामा आउन लेखेको पत्र प्राप्त भएको जानकारी दिए ।