कारोबार संवाददाता
आइतवार, बैशाख १, २०७६
240

विराटनगर-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारका कारण जनता निराश भएको भएका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले सरकार भ्रष्टाचार, कमिशन र सस्ता भाषणमा लिप्त भएको चर्चा गरे ।
“जनतालाई ठूला–ठूला सपना देखाउने र काम भने केही नगर्ने सरकारकै कारण जनतामा निराशा देखिएको छ,” सिंहले थपे, “जनता बेरोजगारी, महँगी, अशान्ति र गरिबीबाट थिलथिलो भएका छन् तर सरकार पानीजहाज र रेलको कुरा गरिरहेको छ ।” केपी ओली नेतृत्वको सरकारले गन्तव्य बिर्सिएको उनको कथन थियो । “जनतालाई सरकारले के न गर्छ भन्ने लागेको थियो तर केही गर्न सकेन। त्यही भएर जनता निराश भएका हुन्,” उनले भने ।

जनताका भावना र आवश्यकताअनुसार काम नगर्ने सरकारले आफूलाई कम्युनिष्ट सरकार बन्न नसुहाउने सिंहको कथन थियो । सरकारको कार्यशैली तथा क्षमता बालुवाटार जग्गा खरिद प्रकरणबाट नै प्रस्ट भएको सिंहले बताए । बालुवाटारको जग्गा बिक्री हुँदा र खुलेआम भ्रष्टाचार हुँदासमेत सरकार मौन बसेकोमा नेता सिंहले आपत्ति जनाए । सुशासन कायम गर्न सरकार असफल भइसकेको उनले दाबी गरे ।
त्यस्तै नेता सिंहले पार्टीलाई सही ढंगबाट अगाडि बढाउन नेतृत्वले नसकेको बताए । कांग्रेस नेतृत्व विधि र विधानअनुसार नचल्दा सांगठनिक एकतामा समस्या देखिएको सिंहको भनाइ थियो । “पार्टी नेतृत्वको अकर्मण्यता यस्तै रहने हो भने महाधिवेशनबाट बढारिनुबाहेक अर्को विकल्प छैन,” उनले भने, “चौतर्फी नेतृत्वको आलोचना हुँदासमेत नेतृत्व तहमा सुधार देखिएको छैन ।”