कारोबार संवाददाता
सोमवार, चैत्र ११, २०७५
518

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सरकारले आफूलाई अनुकूल हुने तथ्यांकमात्र प्रस्तुत गरेको आरोप लगाएका छन् । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन बढेको तथ्यांक प्रस्तुत गरेर कुल गार्हस्थ्य उत्पादनको वास्तविकता सार्वजनिक नगरेको उनले टिप्पणी गरे । उनले भने, “सरकारले आफ्नो कार्यकालमा गरेका उपलब्धिको सही तथ्यांक प्रस्तुत गरोस्, अघिका तथ्यांक ल्याएर उपलब्धि देखाउने नहोस्, २०४६ सम्मको उपलब्धि र त्यसपछिको तथ्यांकको सही विश्लेषण हुनुपर्छ ।” एक वर्षको संसदीय गतिविधिमा सरकारको छायाँ बन्न पुगेका आरोप लगाउँदै उनले संसदीय सर्वोच्चताको सम्मान गर्न अनुरोध गरे ।
बैठकमा संघीय समाजवादी फोरम नेपालका सांसद प्रमिला कुमारीले देशमा पृथकीकरण र केन्द्रीकरणको खतरा बढेको बताउँदै संविधान संशोधनको मुद्दामा सम्झौता गरी सरकारमा गएपनि कार्यान्वयन नभएकाप्रति असहमति प्रकट गरिन् । राष्ट्रिय जनता पार्टी नेपालका सांसद रमेशकुमार यादवले तराई–मधेशमा भएको आन्दोलनको छानबिन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरिन् ।