कारोबार संवाददाता
सोमवार, चैत्र ११, २०७५
477

नेपालगन्ज-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सेनालाई प्रधानमन्त्रीको अधिनमा राख्ने प्रयास लोकतन्त्र सखाप पार्ने षड्यन्त्र भएको बताएका छन् । उनले सेनालाई अधिनमा राख्नु भनेको सबै ‘क्याप्चर’ गर्ने रणनीति भएको बताए ।
बर्दियाको गुलरियामा आइतबार नेपाल प्रेस युनियन बर्दियाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले सेनामा हस्तक्षेप गर्नु संविधान विपरित भएको बताए । वर्तमान सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेर लोकतन्त्रलाई नै सखाप पार्ने षड्यन्त्र पटक पटक गर्दै आएको जनाउँदै उनले यस्ता गलत कार्य विरुद्ध कांग्रेस चुप लागेर नबस्ने चेतावनी पनि दिए ।

सेनालाई कसैको अधिनमा भन्दा पनि स्वतन्त्र राख्नु पर्ने लोकतान्त्रिक परिपाटी रहेको जिकिर गर्दै उनले अधिनमा राख्ने भन्ने कुरा संविधान र लोकतन्त्र दुबैको विपरित भएको प्रष्ट पारे । महामन्त्री कोइरालाले सेनालाई कुनै पनि विवादमा तान्न नहुने जनाउँदै सरकारले सेनालाई समेत विवादित बनाउने काम गरिरहेको बताए ।
सेनामा कसैले पनि कुनै प्रकारको हस्तक्षेप गर्नु हुँदैन भन्ने कांग्रेसको मान्यता रहेको प्रष्ट पार्दै कोइरालाले अहिले प्रजातन्त्र र लोकतन्त्र कमजोर बनाउने षडयन्त्रहरु भैरहेको दावी गरे । “सरकारले धेरै क्षेत्रमा हस्तक्षेप गरेर एकलौटी गरेको सर्वविदितै छ, अब सेनामा समेत हस्तक्षेप गर्न खोजिरहेको छ,” उनले भने ।
लोकतन्त्र र प्रजातन्त्रका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसले टुलुटुलु बसेर यस्ता सबै क्रियाकलाप हेर्न नसक्ने जनाउँदै उनले जनतालाई सेचत पार्ने अभियान शुरु गरिने बताए । एक प्रसंगमा महामन्त्री कोइरालाले नेकपा विप्लवमाथि प्रतिवन्ध लगाएर सरकारले देशलाई पुनः एक पटक द्धन्द्धमा धकेल्ने कार्य गरेको बताए । उनले वार्ताबाट समाधान नहुने कुनै पनि विषय नभएको जनाउँदै वार्ताको माहोल बनाउनु पर्नेमा जोड दिए ।
कसैलाई आतंककारी घोषणा गरेर, उनीहरुको दमन गरेर समस्याको समाधान नहुने प्रष्ट पार्दै उनले भने, “लामो समयसम्म हिंसात्मक गतिविधि गरेको माओवादी त वार्ताबाट शान्तिमा आयो भने विप्लवलाई किन ल्याउन सकिँदैन ?”
कांग्रेसभित्र कुनै पनि प्रकारको विवाद र गुटबन्दी नरहेको प्रष्ट पार्दै कोइरालाले पार्टीलाई एकजुट बनाउन नै आफूहरु पूर्वदेखि पश्चिमसम्म दौडिरहेको जनाए ।