कारोबार संवाददाता
बुधवार, चैत्र ६, २०७५
533

पोेखरा-नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको तेश्रो राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । गुट–उपगुटले सांगठनिक रुपमा पार्टी कमजोर हुँदै गएकोले त्यसको अन्त्यको लागि यही चैत २८ र २९ गते पोखरामा उक्त सम्मेलन हुन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सम्मेलनमा ६० भन्दा बढी जिल्लाका कोषाध्यक्षहरुको सहभागिता हुने समितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए । उक्त सम्मेलनमा आर्थिक श्रोतलाई सृदृढ, समृद्ध, पारदर्शी र जवाफदेही बनाउन, विदेश पलायन रोकेर युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न पार्टीमार्फत् सरकारलाई दबाब दिने, महँगी, हत्या, हिंसा, बलात्कार, भ्रष्टचारलगायतको मुद्दालाई अघि बढाउन सरकारविरुद्ध विरोध गर्ने बिषयमा केन्द्रित भई छलफल हुने उनले जानकारी दिए ।

सम्मेलन उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय गरिएको समितिका कोषाध्यक्ष लक्ष्मी पाण्डेले बताइन् । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता गगन थापा लगायतको सहभागिता हुने भएको छ ।
साथै कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई विजयी गराउन लागि सम्मेलन थप सहयोगी हुने अध्यक्ष पुडासैनीले बताए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा सांसद रवीन्द्र अधिकारीको हालै ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उनी कास्की क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।