कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५
598

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनताले माग गरे संघीयता र गणतन्त्रका विषयमा जनमत संहग्रमा जान डराउन नहुने धारणा राखेका छन् । फागु अर्थात् होली पर्वको अवसरमा बुधबार टोखास्थित आफ्नो निवासमा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले जनताले चाहे संघीयता र गणतन्त्रका विषयामा जनमत संग्रहमा जान डराउन नहुने बताएका हुन् ।
“संघीयता राख्ने कि खारेज गर्ने भन्ने विषय र गणतन्त्र कि राजतन्त्र भन्ने विषयमा जनताले माग गरे भने जनमत संग्रहमा जानुपर्छ । जनमत लिन हामी डराउनु हुँदैन,” उनले भने । महामन्त्री कोइरालाले धर्मनिरपेक्षताका बारेमा पनि जनमत संग्रह गरिनुपर्ने धारणा राखे । झण्डै ८० प्रतिशत हिन्दू धर्मावलम्बी भएको मुलुकलाई राजनीतिक निर्णयबाट धर्म निरपेक्ष राष्ट्र घोषणा गरिनु गलत भएको जिकिर गर्दै उनले जनमत संग्रहमा जानुपर्ने बताएका हुन् ।

“८० प्रतिशतभन्दा बढी हिन्दू भएको मुलुकमा राजनीतिक निर्णय गरेर धर्मनिरपेक्ष घोषणा गर्नु गलत हो,” कोइरालाले भने, ‘‘जनमत संग्रह गरेर यसका बारेमा जनताको राय लिनुपर्छ ।” उनले सरकार वाइडबडी काण्ड, सुन काण्डलगायत भ्रष्टाचार प्रकरणहरुमा विवादित बन्दै गएको भन्दै कांग्रेसले निरन्तर संसदबाट खबरदारी गरिरहेको जिकिर गरे । “सरकारलाई कांग्रेसले खबरदारी गरिरहेको छ । हामी संसद्मा अहिले सानो शक्तिका रुपमा छौं । त्यसैले कमजोर प्रतिपक्षीको रुपमा देखिएको हुनसक्छ,” उनले भने ।
महामन्त्री कोइरालाले पार्टीमा गठन हुन बाँकी विभाग गठनका बारेमा सभापति शेरबहादुर देउवासँग छलफल गरेको जानकारी दिँदै विभागहरु अबिलम्ब गठन हुनुपर्नेम जोड दिए ।