कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५
691

काभ्रे-सरकारले नेकपा माओवादी विप्लव समूहको आपराधिक कृयाकलापमा प्रतिबन्ध लगाएसँगै सुरु भएको अप्रेसनमा प्रहरीले ४ नेता पक्राउ गरेको छ । काभ्रे जिल्लाको साविक शिखरआम्बोटे गाविस ८ हालको रोशी गाउँपालिका २ काफ्लेडाँडाबाट मंगलबार साँझ विप्लव समूहका झापाका शिव धिताल, दाङका नृपबहादुर विक, भोजपुरका डिकेन्द्र राई र सिन्धुपाल्चोकका विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिने क्रममा अपराध अनुसन्धान महाशाखा टेकुको टोली र विप्लव समूहबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ । महाभारत लेकमा पर्ने काफ्लेडाँडा दुर्गममा पर्छ । खानिखोलाको डाँडागगाउँ, बेथान्चोकको भुग्देउ महाँकाल, रोशीको शिखरआम्बोटे र महाभारतको महादेवटार गरी चारवटा गाउँपालिकाको संगम रहेको त्यस क्षेत्रमा मोबाइल लोकेसनका आधारमा अपराध अनुसन्धान महाशाखाको टोली पुगेको थियो ।

काभ्रेमा लुकेका छन् भन्ने खबर पाएपछि मंगलबार दिउँसैबाट काभ्रेका विभिन्न स्थानमा प्रहरी परिचालन भएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का समेतलाई जानकारी नदिई उक्त समूह पक्राउ गर्न पुगेको महाशाखाको टोली राति ११ बजे फर्किएको थियो । महाशाखाका अनुसार नेकपाको गतिविधिबारे सूचना आएपछि महाशाखाका एसपी सोमेन्द्र राठौर र डिएसपी रुक्म कुँवर नेतृत्वको टोली खहरेपाँगु पुगेको थियो ।
मुलुकमा हिंसात्मक गतिविधि बढाएको भन्दै गत फागुन २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको थियो । निर्णयको पालना गर्दै प्रहरी त्यस ठाउँमा पुगेको प्रहरी श्रोतको भनाइ छ । जिल्लामा घटनापछि सुरक्षा निकाय उच्च सतर्कता अपनाइएको सुरक्षा निकायले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले घटनाबारे जिल्लामा केहि थाहा नभएको जानकारी दिए । घटनाबारे जानकारी नभएपनि जिल्लामा सुरक्षा योजना बनाएर अगाडि जाने उनले बताए ।