कारोबार संवाददाता
मंगलबार, चैत्र ५, २०७५
799

नेपाल बार एसोसिएसनमा चुनावी चहलपहल बढेको छ । १८ हजारभन्दा बढी मतदाता रहेको बारको चैत १६ गते निर्वाचन हुने कार्यक्रम तय भएको छ ।
निर्वाचनको माहोल तातेका बेला सोमबार सञ्चार केन्द्र नेपालमा आयोजित कार्यक्रममा प्रगतिशिल, पेशागत तथा समावेशी कानुन व्यवसायी समूह र लोकतान्त्रिक समूहका उम्मेदवारहरुले आ–आफ्नो चुनावी प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रगतिशिल, पेशागत तथा समावेशी कानुन व्यवसायी समूहका अध्यक्षका उम्मेदवार तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले आफूले बारलाई विधिको शासन कायम राख्न पहल र प्रयास गर्ने संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले न्यायालय सक्षम र बलियो भएमात्र मानवअधिकार रक्षा हुने भन्दै बारको नीतिगत कुराहरुलाई अगाडि बढाउनुपर्ने धारणा राखे । श्रेष्ठले न्यायालयमा राजनीतिक प्रभाव र दबाब बढेको प्रति संकेत गर्दै राजनीतिक नियुक्तिबाट न्यायाधिश नियुक्त गर्दा जनताले न्याय प्राप्त गर्न नसक्ने तर्क गरे ।
कार्यक्रममा लोकतान्त्रिक समूहका अध्यक्ष सुनिल कुमार पोखरेलले यो निर्वाचन नेतृत्व केन्द्रित होइन, नीति केन्द्रित निर्वाचनमा आफ्नो समूह रहेको धारणा राखे । उनले बारलाई प्राज्ञिक र व्यवसायिक संगठनको रुपमा विकास गर्ने तर्क गर्दै न्याय क्षेत्रमा भएका विविध विकृतिहरुलाई नियन्त्रण गर्दै लैजान आफ्नो समूह सक्षम रहेको तर्क गरे । पछिल्लो समय न्यायक्षेत्रमा राजनीतिक प्रभाव बढेको बताउँदै यसलाई राजनीतिक रुपमा तटस्थ राख्नुपर्ने बताउँदै उनले भने, “जहाँ न्यायपालिका स्वतन्त्र हुँदैन, त्यहाँ पे्रस देखि कुनैपनि स्वतन्त्रता रहँदैन ।”
प्रगतिशीलतर्फका महिला उपाध्यक्षका उम्मेदवार रक्षा बस्यालले नेपालको संविधानले परिकल्पना गरेको महिला तथा समावेशी राज्य व्यवस्थामार्फत् जनताको हकलाई क्रियाशिल बनाउँदै आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको लागि आफ्नो समूह सामाजिक अभियन्ताका रुपमा क्रियाशिल रहने बताइन् । उनले स्वतन्त्र, सक्षम, निष्पक्ष र उत्तरदायी न्यायपालिकाको प्रवद्र्धन गर्न न्यायपालिकासँग सहकार्य तथा खबरदारीको नीति अवलम्बन गर्ने कुरामा आफ्नो समूह रहेको बताइन् ।
त्यस्तै प्रगतिशिलतर्फका महासचिवका उम्मेदवार सुरेन्द्र थापाले विगतमा शम्भु थापाहरुको टिमले जस्तै आफ्नो समूहले बारमा भूमिका खेल्ने र विधिको शासन स्थापित गराउन आफ्नो टिम क्रियाशिल रहने बताए । उनले देशभरको कानुन व्यवसायीहरुको हक हितका निम्ति सिर्जनशिल काममा बारलाई केन्द्रित गराउने तर्क गरे ।
त्यसैगरी लोकतान्त्रिक समूहतर्फका महासचिव लिलामणि पौडेलले अदालतमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने उपायहरु आफ्नो समूहसँग भएकाले आफ्नो समूहले बारको नेतृत्व गर्ने अवसर पाए आफूहरुले नियन्त्रण गर्ने दाबी गरे । पछिल्लो समय विचौलियाका कारण न्यायपालिकाको बद्नाम भएकाले आफूहरु त्यसलाई नियन्त्रण गर्न लाग्ने उनले बताए ।
प्रगतिशिल टिमकै कोषाध्यक्ष उम्मेदवार रुद्रप्रसाद पोखरेलले बारको आम्दानी र खर्चलाई पारदर्शी राख्ने बताए । उनले बार आर्थिक रुपमा कमजोर भएका कारण नियमित र दिगो आर्थिक स्रोतका पहिचान गर्ने प्रतिवद्धता जनाए ।