दिलबहादुर केसी
आइतवार, चैत्र ३, २०७५
1078

दोलखा-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले कर्मचारीहरूले सोचेजस्तो काम गर्न नदिएको गुनासो गरेका छन् । देशको कानुन र परिस्थितिले सोचेजस्तो काम गर्न नसकिएको उनको दुखेसो थियो ।
धेरै उद्योग विगतमा निजीकरण भएको र भएका उद्योग पनि राम्रोसँग चलाऊँ भन्दा समस्या भएको उनले बताए । चरिकोटबाट प्रशारण हुँदै आएको हाम्रो रेडियोको वार्षिकोत्सव उद्घाटन कार्यक्रममा उनले दर्शनमा पढेजस्तो काम गर्न व्यवहारिक रुपमा असहज भएको अनुभव सुनाए । “म त फुर्तीका साथ उद्योग चलाउन आएको थिएँ,” उनले भने, “तर सकिन । कामै नगरी तलब दिनुपरेको छ । वर्षौंदेखि कामै नगरी तलब खुवाएर राख्नुपर्दा कसरी काम गर्नु ।” एउटै उद्योगबाट कमाउनुभन्दा पनि कामै नगरी मजदुर पालेर राख्नुपर्ने अवस्था रहेको उनले बताए ।

विगतमा राजनतिक आन्दोलनमा धेरै ध्वस्त भएपनि अब निर्माणको बेला फेरि ध्वस्त गर्नु नहुनेमा उनको जोड थियो । विगतमा ध्वस्त भएका संरचना निर्माण गर्न लागेका बेला अब कसैलाई पनि ध्वस्त गर्ने बाटोमा नलाग्न उनले आग्रह गरे ।
“हिजोको आन्दोलनबाट संघीय गणतन्त्र, धर्म निरपेक्षता प्राप्त भएको छ । अब फेरि यसको विरुद्ध लाग्नु भनेको प्राप्त उपलब्धीलाई नस्वीकार्नु जस्तै हो,” उनले भने । राजनीतिक परिवर्तनका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ लागेको भन्दै यादवले चुनाव जितेर सत्ता चलाउन चुनौती दिए ।
मन्त्री यावदले उद्योगमा प्रविधि र लगानीको आवश्यकता रहेको बताए । विदेशी प्रविधि र लगानी भित्र्याउनका लागि सरकारले लगानी सम्मेलन गर्न लागेको उनले जानकारी दिए । “नयाँ प्रविधि भित्रिएपछि युवाहरूलाई विदेश जानबाट रोक्न सकिन्छ,” उनले भने । रुग्ण अवस्थामा रहेको खरिढुङ्गाको म्याग्नेसाइट उद्योग नयाँ व्यवस्थापन गरेर भए पनि चलाउने सोच रहेको मन्त्री यादवले बताए । “उद्योगमा भारतीय कम्पनी उडिसाको सेयर छ । उक्त कम्पनी अहिले सम्पर्कमा नआएकाले यसको निर्णय हुन सकेको छैन । अब त्यसलाई विशेष निर्णय गरेर भए पनि उद्योग चलाइन्छ,” उनले भने ।

आफ्नै ‘ठूला राजा’विरुद्ध लड्न गाह्रो
कार्यक्रममा मन्त्री यादवले राजतन्त्रविरुद्ध लड्न सजिलो भए तापनि आफ्नै राजा विरुद्ध लड्न गाह्रो भएको बताएका थिए । देशको दुस्मन राजा भएको ठम्याएर लडाइँ लडेर राजा हटाए तापनि अहिले आफ्नै दलहरूभित्र नयाँ ठूला राजाहरू भएकाले त्यस विरुद्धको लडाइ जटिल भएको गुनासो उनले गरे ।
मन्त्री यादवले आफूले बोलेका विषयलाई कहिलेकाहीँ मिडियाले बंग्याएको पनि आरोप लगाए । मन्त्री यादवले पहाडी जनतालाई बहुसंख्यक जनताले माया गर्ने दाबी पनि गरे । मधेसी र पहाडी जनताबीच भएको सम्बन्ध भूकम्पमा मधेशी जनताले देखाएको उदारताबाट प्रष्ट हुने उनको भनाइ थियो ।
अहिलेको आवश्यकता राष्ट्रिय एकता भएकाले विकासका लागि सबै एक हुनुपर्नेमा यादवले जोड दिए । “जनताले आलोचना गर्न पाउनुपर्छ । सरकारमा बसेकाले आलोचना स्वीकार्नुपर्छ,” उनले भने । सिके राउत र सरकारबीचको सहमतिबारे नबोले पनि मन्त्री यादवले कोही पनि अहिले देश विखण्डनमा नलागेको बताए ।
वार्षिकोत्सव कार्यक्रममा संघीय सांसद पार्वत गुरुङ, पूर्व राज्यमन्त्री देवी खड्का, प्रदेश सांसद विशाल खड्का, सामुदायिक रेडियो प्रशारक संघका वरिष्ठ उपाध्यक्ष उर्जुन गिरी लगायतले शुभकामना मन्तव्य दिए ।