कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
392

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधनलगायतका आफूहरुको मुख्य मागहरु अहिलेसम्म सम्बोधन नभएको भन्दै आक्रोश पोखेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा झाले भने, “राजपा शान्तिपूर्ण आन्दोलनको लाइन छोड्दैन । हाम्रा मागहरु पूरा भएका छैनन् ।”
उनले टीकापुर घटनामा रेशम चौधरी संलग्न पनि नभएको जिकिर गरे । झाले थपे, “जुन दिन त्यो घटना भयो, त्यो दिन रेशम चौधरी टीकापुरमा छैनन् । अर्को दिन थारुहरुको सम्पत्ति, इज्जत सबै लुटियो । त्यो घटनाको वास्तविकताबारे गरिशिचन्द्र लाल आयोगको प्रतिवेदनले समेटेको छ जस्तो मलाई लाग्छ । आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ ।” उक्त आयोगको प्रतिवेदन सार्वजनिक भयो भने रेशम चौधरीलगायत सबै निर्दोष सावित हुने उनको दाबी छ ।
सरकारले नेकपा विप्लवमाथि लगाएको प्रतिबन्धबारे टिप्पणी गर्दै उनले भने, “जब कुनैपनि चिजलाई बढ्ता थिचिन्छ, त्यो झन् माथितिर आउने स्थिति हुन्छ । यसलाई ‘ट्याक्टफुल्ली–ह्याण्डलिङ’ गर्न सक्नुपथ्र्यो । २०५२ सालमा जब माओवादीहरु गएर तत्कालिन प्रधानमन्त्रीलाई एउटा ज्ञापनपत्र बुझायो, त्यसलाई कुनैपनि वास्ता गरिएन । हुँदै जाँदा यत्रो ठूलो जनयुद्ध भयो । देश नै अहिलेसम्म फसिरहेको अवस्था छ ।”