कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४
1024

सातवटै प्रदेशका प्रदेशसभा सांसदहरूले आइतबार प्रादेशिक अस्थायी राजधानीमा शपथ ग्रहण गरेका छन् । प्रदेशसभा प्रमुखले जेष्ठ सदस्यलाई र जेष्ठ सदस्यले अन्य सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
विराटनगर संवाददाता मीनकुमार नवोदितका अनुसार प्रदेश नम्बर १ को पहिलो प्रदेशसभाका सदस्यहरूले शपथग्रहण लिएका छन् । १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर महानगरपालिकास्थित वीरेन्द्र सभागृहमा सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो । प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर सुब्बाले सबैभन्दा पहिला ७४ वर्षीय ज्येष्ठ प्रदेशसभा सदस्य ओमप्रकाश सरावागीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

त्यसपछि प्रदेश प्रमुख र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा सरावागीले बाँकी सदस्यहरूलाई सपथग्रहण गराएका थिए । प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ जना गरी जम्मा ९३ जना सदस्यले सपथग्रहण गरेका हुन् । ज्येष्ठ सदस्य सरावागीले सभाको सभामुख चयन नभएसम्म सभा सञ्चालन गर्ने जनाइएको छ ।
संवाददाता किरण कर्णका अनुसार दुई नम्बर प्रदेशको राजधानी जनकपुरस्थित जनकपुर उद्योग वाणिज्य संघको राजर्षि जनक हलमा सांसदहरुले शपथ लिएका छन् । आइतबार १०७ जना सांसदले आ–आफ्नै भाषामा शपथ लिए । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाका जेष्ठ सदस्य लगनलाल चौधरीलाई नेपाली भाषामा शपथ गराए पनि अरु सांसदले आ–आफ्नो मातृभाषामा सपथ ग्रहण गरेका हुन् ।
प्रदेश सांसदले नेपाली भाषामा सपथ लिन अस्वीकार गरेपछि प्रदेश प्रमुख कायस्थले आ–आफ्नो मातृभाषामा सपथ लिन स्वीकृत दिएका थिए ।
मैथिली भाषामा ४७, भोजपुरी भाषामा २५, नेपाली भाषामा २४ र हिन्दी भाषामा ११ जना सांसदले शपथ लिएका छन् । प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी ऐनले प्रदेश सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरेको छ ।
आइतबार नै प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्यहरूले पनि शपथ लिएका छन् । प्रदेश सचिवालयको रुपमा रुपान्तरित मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको सभा हलमा प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाको उपस्थितिमा उनीहरूले सपथ लिएका हुन् । उनीहरूलाई सभाका ज्येष्ठ सदस्यीय डोरमणि पौडेलले सपथग्रहण गराएका थिए । यसअघि पौडेललाई प्रदेशप्रमुख कोइरालाले प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण गराएकी थिइन् ।
प्रदेश नम्बर ४ का ६० मध्ये ५८ जना सांसदले शपथ लिएको संवाददाता दीननाथ बरालले जनाएका छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश ४ का ६७ वर्षीय ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई पहिला सपथ खुवाएसँगै त्यसपछि ज्येष्ठ सदस्यले अन्यलाई शपथ खुवाएका हुन् । श्रेष्ठ एमाले नवलपुर प्रदेशसभा सदस्यहुन् । प्रदेश ४ मा प्रत्यक्षतर्फ ३६ र समानुपातिकका २४ गरी कुल ६० जना सदस्य रहेकोमा ५८ जनाले शपथ खाए । मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) र तनहुँबाट निर्वाचित रामबहादुर गुरुङ कार्यक्रममा सहभागी भएनन् ।
उता, ५ नंम्बर प्रदेशका प्रदेशसभा सदस्यहरूले पनि आइतबार अस्थायी मुकाम बुटवलमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख उमाकान्त झाले बुटवल उद्योग वाणिज्य संघको सभाहलमा जेष्ठ प्रदेश सभा सदस्य बलदेव शर्मा पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । त्यसपछि जेष्ठ सदस्य पोखरेलले अन्य सांसदहरूलाई सपथ ग्रहण गराएका थिए । प्रदेश नम्बर ५ मा १२ जिल्लाबाट प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फका ३५ गरी ८७ सांसद रहेका छन् । सपथ ग्रहणमा दुई जना सांसद भने अनुपस्थित भए ।
सुर्खेत संवाददाता गोविन्द खत्रीका अनुसार ६ नम्बर प्रदेशका सदस्यहरूले पनि आइतबार शपथ ग्रहण गरेका छन् । उनीहरुलाई प्रदेशको अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रदेगरमा सपथ ग्रहण गराइएको हो । प्रदेश प्रमुख दुर्गाकेशर खनालले जेष्ठ सदस्य हिमबहादुर शाहीलाई सपथ खुवाए भने बाँकी सदस्यहरूलाई जेष्ठ सदस्य शाहीले सपथ खुवाएका हुन् । सपथ ग्रहण गराएपश्चात् बोल्दै प्रदेश प्रमुख खनालले ६ नम्बर प्रदेश सबैभन्दा पिछडिएको र अविकसित प्रदेश भएको बताउँदै प्रदेशको विकासका लागि एक जुट भएर लाग्न आग्रह गरेका छन् । सपथग्रहण कार्यक्रम जिल्ला समन्वय समितिको सभाकक्षमा गरिएको छ । प्रदेसभाको पहिलो बैठक कहिले बस्ने भन्ने विषयमा भने जानकारी गराइएको छैन ।
धनगढी संवाददाता हिमेश बिकका अनुसार ७ नम्बर प्रदेशका सांसदको पनि आइतबार शपथग्रहण भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले धनगढीको उत्तरबेहडीस्थित ७ नम्बर प्रदेश सचिवालयमा पदभार ग्रहण गरेपछि धनगढीको मेनरोडस्थित जिल्ला समन्वय समितिको सभाहलमा ज्येष्ठ सांसद दिव्यश्वरी शाहलाई शपथ खुवाए ।
त्यसपछि शाहले अन्य सांसदलाई शपथग्रहण गराएकी थिइन् । शपथग्रहण कार्यक्रममा ५३ जना सांसदमध्ये ५१ जना सांसद उपस्थित भएका थिए । शपथग्रहण कार्यक्रममा उपस्थित नहुने सांसदमा नेपाली कांग्रेस डोटी ‘क’ बाट निर्वाचित सांसद भरत खड्का र एमालेतर्फबाट समानुपातिक सांसद चुनकुमारी चौधरी छन् ।
प्रदेश प्रमुख मल्लको शनिबार हवाईमार्गबाट धनगढी आउने कार्यक्रम रहेको भए पनि प्रतिकूल मौसमका कारण उडान हुन नसकेपछि उनी स्थलमार्ग हुँदै आइतबार धनगढी आएका थिए । प्रदेश प्रमुख मल्लले दिउँसो अढाई बजे पदभार ग्रहण गरेका थिए भने तीन बजे ज्येष्ठ सांसद शाहलाई शपथग्रहण गराएका थिए ।
पदभार ग्रहण गर्दै प्रमुख मल्लले संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै ७ नम्बर प्रदेशको विकास निर्माणमा दत्तचित्त भएर लाग्ने बताए ।

जिल्ला ब्युरो