कारोबार संवाददाता
आइतवार, माघ ७, २०७४
918

सातवटै प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखले शनिबार बिदाको दिन भए पनि साँझ अबेरसम्म प्रादेशिक अस्थायी राजधानीस्थित सरकारी कार्यालयमा पदभार ग्रहण गरेका छन् । आज प्रदेशका सांसदहरूको सपथग्रहण हुने भएपछि गत सप्ताहन्तमा नियुक्त भएका प्रदेश प्रमुखहरूले शनिबारै पदभार ग्रहण गरेका हुन् ।
हेटौंडा संवाददाता रुपेश दुलालका अनुसार प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिबार अपराह्न पदभार ग्रहण गरेकी छन् । प्रदेश राजधानी हेटौंडास्थित प्रादेशिक सरकारी कार्यालयमा प्रमुख कोइरालाले पदभार ग्रहण गरेकी हुन् । उनले संविधान कार्यान्वयनका क्रममा आफू प्रदेश प्रमुखको रुपमा आएको बताइन् ।
आइतबार बिहान १० बजे प्रदेश सभाका ज्येष्ठ सदस्य डोरमणि पौडेललाई सभामुखको सपथ ग्रहण गराउने र बिहान ११ बजे मध्यमाञ्चल शिक्षा निर्देशनालयको कार्यालय रहेको हलमा उनले प्रदेश सभाका अन्य १ सय १० जना सांसदलाई सपथग्रहण गराउने प्रदेश नम्बर ३ का सचिव रेश्मीराज पाण्डेले बताए ।
विराटनगर संवाददाता मीनकुमार नवोदितले प्रदेश नम्बर १ का प्रमुख डा. गोबिन्द सुब्बाले शनिवार पदभार ग्रहण गरेका जनाएका छन् । प्रमुख सुब्बाले आइतबार बिहान ११ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेशसभा ज्येष्ठ सदस्यलाई सपथग्रहण गराउने कार्यक्रम तय भएको छ । प्रदेश प्रमुख सुब्बाले शनिबार साँझ स्थानीय प्रशासन, विराटनगर महानगरपालिकाका प्रमुख, राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् । शनिबार अपरान्ह विराटनगर विमानस्थलमा उत्रिएका सुब्बाको शुभचिन्तकहरूले भव्य स्वागतसमेत गरेका थिए ।
धनुषाबाट संवाददाता किरण कर्णका अनुसार प्रदेश नम्बर दुईका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पनि पदभार ग्रहण गरेका छन् भने आइतबार प्रदेश सांसदहरुको सपथ ग्रहण हुनेछ । दुई नम्बर प्रदेशमा प्रत्यक्षतर्फ ६४ जना र समानुपातिकमा ४३ जना सांसद छन् । जनकपुर चुरोट कारखानामा प्रदेश प्रमुखको कार्यालय तथा आवास राख्ने योजना छ । उता, धनगढी संवाददाता हिमेश बिकका अनुसार प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढीमा मन्त्रालय तथा कार्यालयका लागि व्यवस्थापन थालिएको छ । प्रदेश प्रमुखले शनिबार पदभार सम्हालेका छन् । सरकारले ७ नम्बर प्रदेशका लागि मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकेको छ । प्रदेश सांसदको सपथ आज हुनेछ । प्रदेश प्रमुख मल्लले जेष्ठ समानुपातिक प्रदेशसभा सदस्य दिव्यश्वरी शाहलाई शपथ ग्रहण गराउने र शाहले प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
बुटवल संवाददाता टोपराज शर्माका अनुसार पदभार ग्रहण र प्रदेश सभा सदस्यहरूलाई सपथ ग्रहण गराउन प्रदेश प्रमुख उमाकान्त झा शनिबार साँझ नै अस्थायी मुकाम बुटवल आइपुगेका छन् । प्रदेश नम्बर ५ मा १२ जिल्लाबाट प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३७ गरी ८७ सांसद छन् । प्रदेश सांसदहरूलाई बुटवल उपमहानगरपालिका वडा नंं. ६ खयरघारीस्थित बुटवल उद्योग वाणिज्य संघको सभा हलमा बिहान ११ बजे सपथ ग्रहण गराउने कार्यक्रम तय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए । सांसदहरूलाई सपथग्रहण गराउनुअघि झाले प्रदेश प्रमुखको सचिवालय रहने रुपन्देही ब्यापार संघको भवनमा बिहान १० बजे पदभार ग्रहण गर्नेछन् । “आइतबार बिहान १० बजे मैले पदभार ग्रहण गर्छु, त्यसपछि ११ बजे प्रदेश सांसदहरूको सपथग्रहण शुरु हुन्छ,” प्रदेश प्रमुख झाले कारोबारसँग भने । सपथ ग्रहणका लागि बुटवल उद्योग वाणिज्य संघको पाँच सय जना अट्ने क्षमताको हलमा सांसद, पत्रकार, आमन्त्रित अतिथिहरूका लागि बस्न छुट्टाछुटै स्थान तोकिएको प्रमुख जिल्ला अधिकारी मैनालीले बताए । प्रदेश मन्त्रालयका लागि बुटवलकै श्रम कार्यालयको ६ तले भवन प्रस्ताव गरिएको छ । त्यहाँ नअटेका मन्त्रालयका लागि वन, राजश्व लगायतका कार्यालयमा व्यवस्थापन गरिनेछ । प्रमुखको सचिवालय, सभा स्थल र निवास क्षेत्रलाई शनिबारदेखि नै सुरक्षा निगरानीमा राखिएको छ ।
सुर्खेत संवाददाता गोविन्द खत्रीका अनुसार वीरेन्द्रनगरमा शनिबार प्रदेश नम्बर ६ को प्रमुखको कार्यालय स्थापना गरिएको छ । क्षेत्रीय वन तालिम केन्द्रको भवनमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको हो । सँगै रहेको क्षेत्रीय वन कार्यालयमा आवासको पनि व्यवस्था गरिएको छ । प्रदेश प्रमुखको कार्यालय र आवास क्षेत्र सोही कार्यालयमा हुने ६ नम्बर प्रदेशका प्रमुख सचिव सुरेश प्रधानले बताए । शुक्रबार सपथ ग्रहण गरेका प्रदेश प्रमुख दुर्गाकेशर खनाल शनिबार साँझ सुर्खेत आउने कार्यक्रम भए पनि मौसमका कारण काठमाडांैबाट नेपालगञ्जका लागि जहाज उडान अवरुद्ध भएपछि स्थगित भएको छ । खनाल आइतबार बिहान हेलिकप्टरबाट सुर्खेत आउने भएका छन् । उनले आइतबार नै पदभार सम्हाल्ने र प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम तय गरिएको छ । ६ नम्बर प्रदेशका १० जिल्लाबाट २४ जना प्रत्यक्ष र १६ जना समानुपातिक गरी ४० जना प्रदेशसभा सांसदले आइतबार सपथ ग्रहण गर्नेछन् । उता, ४ नम्बर प्रदेशका प्रमुख बाबुराम कुँवरलाई शनिबार पोखरामा स्वागत गरिएको छ । प्रधानमन्त्री तथा राष्ट्रपतिको सुरक्षाको झल्को दिने गरी पोखरा विमानस्थलदेखि मुस्ताङ चोक हुँदै राष्ट्र बैंक गेष्टहाउसम्म ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो । प्रदेश प्रमुख कुँवरले पोखरा विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै विधिको शासन लागू गर्ने आफ्नो मुख्य जिम्मेवारी रहेको बताए । उनले आइतबार ज्येष्ठ सदस्यलाई शपथ गराएपछि अन्य प्रदेश सभा सदस्यको शपथ गराइने जनाए । कुँवरले आइतबार पोखराको सहिद चोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नेछन् । प्रदेश ४ मा प्रदेशसभा अन्तर्गत प्रत्यक्षतर्फ ३६ र समानुपातिकका २४ गरी ६०जना सदस्य शपथ ग्रहणका लागि पोखरा आइसकेका छन् ।

 

जिल्ला ब्युरो