कारोबार संवाददाता
आइतवार, फाल्गुन ५, २०७५
473

जनकपुरधाम-प्रदेश नम्बर २ को सरकारले एक वर्षको अवधिमा हासिल गरेको उपलब्धीहरु सार्वजनिक गरेको छ । प्रदेश सरकार स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राउतले सरकारको उपलब्धि जानकारी गराउँदै जनमुखी कार्य गर्न सफल भएको दाबी गरे ।
उनले संघीय सरकारको असहयोगका बाबजुद प्रदेश सरकारले जनतामुखी कार्यक्रमहरु लागू गर्न सफल भएको बताए । मुख्यमन्त्री राउतले संघीय सरकारले आवश्यक सहयोग नगरेकै कारण प्रदेश सरकार जनताले अपेक्षा गरे अनुसारको कार्य गर्न नसकेको आरोप लगाए ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई कमजोर बनाउनकै लागि संविधानविपरित गएर संघीय सरकारले प्रहरीसम्बन्धी विधेयक तथा आन्तरिक सुरक्षा सम्बन्धी विधेयक ल्याइएको आरोप लगाए । प्रदेश सरकारले संघीय सरकारको संघीयता र संविधान विरोधी कृयाकलाप विरुद्ध प्रतिवाद गर्ने मुख्यमन्त्री राउतले चेतावनी दिए ।