कारोबार संवाददाता
बुधवार, माघ ९, २०७५
764

राष्ट्रिय जनता पार्टी (राजपा)को महाधिवेशन नजिकिरहँदा पार्टीभित्रको विवाद पनि थप बल्झिँदै गएको छ । अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्र राय यादवमा गए पनि विवाद समाधानको स्थिति नदेखिएको पार्टीका नेताहरूले बताउन थालेका छन् ।
पार्टीका नेताहरूका अनुसार विभिन्न जिल्लाहरूमा पार्टी अध्यक्ष निवर्तमान संयोजकद्वय महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर रहेका छन् । उनीहरूले सदस्यता वितरण आफूखुशी गर्न थालेका छन् । माघ १५ गतेसम्म सदस्यता वितरण अभियान विस्तार गरिएको भए पनि विभिन्न जिल्लामा यस किसिमको अवस्था देखिएको ती नेताले बताए । यसले समस्यालाई थप बल्झाएको छ ।

ठाकुर नयाँ दिल्लीमा छन् । उनको अनुपस्थितिमा अध्यक्ष मण्डलको बैठक सोमबार बस्यो, तर कुनै निष्कर्ष निस्केन । महेन्द्र रायले यसबारे छलफल अगाडि बढाएका थिए तर कुनै निष्कर्ष ननिस्केको राय निकट स्रोतको भनाइ छ ।
राजपाको तल्लो निकायमा समानान्तर कमिटीको अवस्था बनेको छ । यस्तोमा महाधिवेशन संकटमा फस्न पुगेको ती नेताले बताए । अध्यक्ष मण्डलपछिका नेताहरूले पार्टीलाई सशक्त रूपमा अगाडि बढाउनुपर्ने चाहना राखेका छन् । तर, उनीहरूको हैसियत नै पार्टीमा छैन । अध्यक्ष मण्डलको निर्णय हुनुपर्ने हुन्छ । पछिल्लो समय अध्यक्ष मण्डलका निर्णयहरू नै विवादित हुन पुगेका छन् ।
राजेन्द्र महतोलाई संयोजकको जिम्मेवारी दिइएयता उत्पन्न विवादले कुनै निकास ननिस्कएको ती नेताले बताए । जसरी सबै नेताहरूले ६ पार्टीका अध्यक्षहरूले एउटा पार्टी बनाउने निर्णय गरे, त्यसप्रति उनीहरू इमानदार नभएको ती नेताको बुझाइ छ ।
एक शक्तिशाली पार्टी बनाउने तर त्यस अनुरूपको काम नेताहरूबाट नहुन थालेपछि यो समानान्तर कमिटीको अभ्यास सुरू भएको हो । दुई अध्यक्षका पछाडि भिन्न भिन्न जिल्लाका सदस्यहरू पक्ष र विपक्षमा भएर समानान्तर गतिविधि अगाडि बढाएका हुन् । सदस्यता वितरणको विवाद नसुल्झिए त्यसबाट महाधिवेशन प्रतिनिधि छान्ने काम थप जटिल हुने बताइएको छ ।